काठमाडौं, २५ मंसिर । विश्व पर्वतीय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयाजना गरेर मनाइएको छ ।
विश्व पवतीय दिवसको अवसरमा नेपाल पर्वतारोहण संघले बिहान बसन्तपुरदेखि पर्वतारोहण संघको कार्यालय नागपोखरीसम्म हिलारी पदयात्रा कार्यक्रम आयोजना गरेको थियो ।
पर्यटन विभागका महानिर्देशक डुण्डुराज घिमिरेको संक्षिप्त शुभकामना सहित झण्डा फहराएर शुभारम्भ गर्नुभएको सो पदयात्रा कार्यक्रममा नेपालको पर्वतीय क्षेत्रका संस्कृति झल्काउने भेषभूषा, बाजागाजा र नृत्यको झाँकीसहितको जुलुस काठमाडौंको बसन्तपुरबाट यटखा, नरदेवी,क्षेत्रपाटी, ठमेल,नरसिंह चोक, त्रिदेवी मार्ग, केशरमहल,दरबारमार्ग, जय नेपाल, नागपोखरी हुँदै संघको केन्द्रीय कार्यालय परिसर नागपोखरीमा आएर विसर्जन सभामा परिणत भएको थियो ।
विसर्जन सभालाई संघको अध्यक्ष सन्तबीर लामा, महासचिव कुलप्रसाद गुरुड.ले सम्बोधन गर्नुभएको थियो ।
संघले विश्व पर्वतीय दिवसको अवसर पारेर संघको केन्द्रीय कार्यालयमा कला चित्रकला क्याम्पको पनि आयोजना गरेको छ जसमा एक दर्जनबढी कलाकारहरुले कुचीका माध्यमबाट विभिन्न रंगहरुको संयोजन गरेर नेपालका विभिन्न हिमाली र पर्वतीइ क्षेत्रका दृश्य झल्काउने चित्रहरु सिर्जना गरेका छन् ।
संघले विश्व पर्वतीय दिवसकै अवसर पारेर पर्वतारोहण र युवा पुस्ता विषयक एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।
सो कार्यक्रममा अग्रज पर्वतारोहीहरुले नेपालको पर्वतारोहणमा हालसम्म भएका उपलब्धि र देखिएका चुनौतिहरुको बारेमा प्रस्तुति दिनुभएको थियो ।
पर्वतारोहण साहसी पर्यटनको एक प्रमुख अंग बन्दै गए पनि यस क्षेत्रमा तालिम प्राप्त र अनुभवी जनशक्ति विदेशिनु, अन्तराष्ट्रिय स्तरको तालिम दिने संस्थाको स्थापना हुन नसक्नु, अपरेटरहरु र शेर्पाहरुमा अस्वस्थ्य प्रतिस्पर्धा देखिनु, अनुभवको कमी भएका गाइडहरुले आवश्यक सावधानी अपनाउन नसक्दा दुर्घटना दरमा बृद्धि हुनु, जलवायु परिवर्तनका कारण हिमपहिरो र हिमाली क्षेत्रमा हुने मौसम परिवर्तनका बारेमा आवश्यक पूर्वज्ञान पाउन नसकिनु, मौसमको अद्यावधिक जानकारी दिने प्रबन्ध हुन नसक्नु, नक्कली उद्धारले देश बदनाम हुनु र युवापुस्तामा पर्वतारोहणप्रति आकर्षण घट्दै जानुलाई पर्वतारोहीहरुले वर्तमान चुनौतिको रुपमा लिएका छन् ।





























