Prakash Adhikari January 19, 2020

काठमाडौं, ५ माघ । नेपालमा सञ्चालित माइक्रो फाइनान्सहरुको क्रियाकलापबाट नेपालको आर्थिक र सामाजिक क्षेत्रमा परेको असरको बारेमा बृहत् अध्ययन गर्नका लागि सेन्टर फर माइक्रो फाइनान्स नेपाल र नेपाल लघुवित्त बैंकर्स संघको बीचमा संझौता भएको छ ।

सम्झौतामा सेण्टर फर माइक्रो फाइनान्स नेपालबाट संस्थाका कार्यकारी अध्यक्ष डा. रेवत बहादुर कार्की र नेपाल लघुवित्त बैंकस् संघको तर्फबाट संघका अध्यक्ष बसन्त लम्सालले हस्ताक्षर गर्नु भएको छ ।

सेण्टर फर माइक्रोफाइनान्स नेपालले सन् २०२१ मा पांचौ राष्ट्रिय लघुवित्त सम्मेलनको आयोजना गर्न लागेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रले समेत मान्य हुने किसिमले गर्न लागिएको नयाँ अध्ययनले लघुवित्तको प्रभाव मुख्यत गरिवी निवारण, कृषि, सेवा र औद्योगिक उत्पादन, सामाजिक द्धन्द्ध, आर्थिक सामाजिक परिचालनमा महिला नेतृत्व बिकास, महिला बिरुद्ध हिंसा लगायतका विषयलाई समेट्ने छ ।

एक वर्षमा सम्पन्न गरिने उक्त अध्ययनबाट प्राप्त निश्कर्षहरुले नेपालको लघुवित्त क्षेत्रको बिकासको लागि बिशेष मार्गदर्शन गर्ने संघ र सिएमएफले विश्वास लिएका छन् ।
नेपालमा हाल चार थोक सेवा प्रदायक लघुवित्त संस्था सहित ९१ लघुवित्त बित्तीय संस्था, करिब दश बाणिज्य तथा बिकास बैंकहरु, एक हजारको हाराहारीमा साना किसान सहकारी संस्था, करिब एक सय जति लघुवित्त सेवा प्रदायक सहकारी संस्थाहरुले लघुवित्तको सेवा प्रदान गर्दै आइरहेका छन् । यी संस्थाहरुले दिएको सेवाबाट ५० लाखभन्दा बढी महिलाहरु प्रत्यक्ष लाभान्वित भएको अनुमान छ ।

यी संस्थाहरुले प्रदान गरेको सेवाबाट नेपालको आर्थिक तथा सामाजिक क्षेत्रको बिकास परिचालनमा उल्लेख्य योेगदान भएको छ । तर यस सेवाको आर्थिक सामाजिक क्षेत्रमा के कति र कस्तो प्रभाव परेको छ भन्ने बारेमा हाल सम्म बृहद अध्ययन भएको छैन ।

Share Now

Leave a comment.