न्होमपेन्ह(क्याम्बोडिया), २ फागुन(बीबीसी) । जापान र ताईवानसहित पाँच समृद्ध एशियाली देशले आफ्ना बन्दरगाहमा आउन रोक लगाएको एउटा क्रूज पानीजहाजका यात्रुलाई क्याम्बोडियाका प्रधानमन्त्री हुन सेनले फूलका गुच्छा र परम्परागत पछ्यौरा उपहार दिँदै स्वागत गरेका छन्।
एमएस वेस्टर्ड्याम नाम गरेको पानीजहाजलाई एशियाका पाँच बन्दरगाहमा रोकिन अनुमति दिइएको थिएन। त्यसलाई सिँहानुकभिल बन्दरगाहमा आउन दिएपछि अहिले क्याम्बोडियाका प्रधानमन्त्रीको सर्वत्र प्रशंसा भइरहेको छ।
त्यसअघि त्यो पानीजहाजलाई क्याम्बोडियाको भन्दा राम्रो स्वास्थ्यप्रणाली भएका जापान, ताइवान र थाईल्यान्ड, द फिलिपिन्स र गुआमजस्ता राष्ट्रले आफ्नो बन्दरगाहमा आउन दिएका थिएनन्।
The Minister of Health of Cambodia has confirmed that there is NO coronavirus aboard the #Westerdam. Passengers will begin to disembark in the morning. Thank you Cambodia! 🙏
— Christina Kerby (@ChristinaKerby) February 13, 2020
क्याम्बोडियाको स्वास्थ्य मन्त्रालयले त्यो पानीजहाजमा रहेका २,००० यात्रु मध्येबाट २० जनाको नमुना जाँच गरेको छ। ती मध्ये कसैमा पनि कोरोनाभाइरसको सङ्क्रमण नभएको बताइएको छ।
क्याम्बोडिया आइपुगेका पानीजहाजका यात्रुलाई आगामी दिनमा भाडामा लिइने विशेष विमानबाट आफ्ना देश पठाउने योजना बनाइएको छ।
पछिल्लो विवरणअनुसार नयाँ कोरोनाभाइरस सङ्क्रमणको कुल सङख्या फेब्रुअरी १३ तारिखसम्ममा ५५,००० नाघिसकेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।
डाइमन्ड प्रिन्सेस जहाजमा के भइरहेको छ?
डाइमन्ड प्रिन्सेस नामक अर्को पानीजहाज जापानको योकोहामामा क्वारन्टीनमा राखिएको छ। त्यसमा ३७०० यात्रु छन्।
तीमध्ये सबैको स्वास्थ्य परीक्षण गरिसकिएको छैन।

यात्रीहरू त्यत्तिकै समय बिताउन बाध्य भएका छन्
त्यो पानीजहाजमा थप ४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण भेटिएपछि त्यहाँका सङ्क्रमित मानिसको कुल सङ्ख्या २१८ पुगेको छ।
कोरोनाभाइरस सङ्क्रमण भएको पाइएका यात्रुहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। तर जहाजभित्र रहेकाहरू आफ्ना क्याबिनमै रहन बाध्य छन्।
बिहीवार जापान सरकारले जहाजमा रहेका सङ्क्रमण नभएका ८० वर्ष उमेर नाघेका यात्रुलाई जहाजबाट बाहिर निस्किन अनुमति दिइने बताएको थियो।
स्वास्थ्यमन्त्री कात्सुनोबु कातोले त्यस्ता यात्रुलाई शुक्रवार जहाजबाट बाहिर आउन दिइने जापान टाइम्स पत्रिकाले जनाएको छ।
पछिल्लो अवस्था
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार कोरोनाभाइरसको प्रकोप चीनमा फैलिने क्रम जारी रहँदा त्यो भाइरस नियन्त्रण गर्ने दिशामा अझै उल्लेखनीय प्रगति हुन सकिरहेको छैन।
डब्ल्यूएचओका अनुसार नयाँ कोरोनाभाइरस सङ्क्रमणका कारण हुने मृत्युदर र रोगको सघनतामा कुनै उल्लेखनीय परिवर्तन भइसकेको छैन।
चीनमा थप १२१ जनाको मृत्यु भएपछि मृत्यु हुनेको कुल सङ्ख्या १३८० पुगेको छ।
तीमध्ये हुबे प्रान्तमा मात्रै थप ११६ जनाको ज्यान गएको र ४,८२३ नयाँ सङ्क्रमण भेटिएको बताइएको छ।
कोरोनाभाइरस सङ्क्रमित मानिसको कुल सङ्ख्या फेब्रुअरी १३ तारिखसम्ममा ५५,००० नाघिसकेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।


















