खरिपाटी(भक्तपुर), ४ फागुन । कोरोना भाइरसको उद्गम स्थल चीनको हुवेई प्रान्तको उहान शहरबाट आइतबार बिहान नेपाल ल्याइएका १ सय ७५ जना नेपालीलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रका ४ वटा भवनमा क्वारेन्टिनमा राखिएको स्वास्थ्य मन्त्रालयको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए अनुसार आइतबार १० बजे उनीहरूको खरिपाटीमा थप स्वास्थ्य परीक्षण गरिएको छ । क्वारेन्टाइनमा एक कोठामा अधिकतम् ३ बेड राखिएको छ । हरेक कोठाका हरेक सैय्याका व्यक्तिलाई अलग अगत ‘साबुन, पानी , चप्पलको व्यवस्था गरिएको छ । नेपाल विद्युत प्राधिकरणको सुविधा सम्पन्न तालिम केन्द्र्र भएकोले इन्टरनेटको सुबिधाले क्वारेन्टाइनमा रहेका सबैलार्ई साथीभाई, परिवारसँग कुरा गर्न तथा अध्ययनमा सजिलो भएको छ।
मास्कमा लगाएका उनीहरुलाई एकअर्कासँग बोल्न दिइएको छ तर बाहिर ननिस्कन भनिएको छ। अब्जरभेसनमा रहेका सबैलाई चिकित्सकहरुको टोलीले बारम्बार परीक्षण गर्ने व्यवस्था भएको जानकारी दिइएको छ र केही समस्या भए बिना हिच्किचाहट तत्काल खबर गर्न आग्रह गरिएको छ ।
आइतबार बिहान ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनीहरूलाई त्यहीं स्वास्थ्य जाँच गर्दा स्वास्थ्य अवस्था सामान्य पाइएपछि मात्रै ६ वटा बसमा राखेर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा पुर्याइएको हो।
कोरोना भाइरस संक्रमणका लक्षण १४ दिनमा देखिने भएकाले उनीहरूलाई क्वारेन्टाइन अर्थात् परिवारलगायत अन्य स्वस्थ मानिसको सम्पर्कबाट टाढा सुरक्षित स्थलमा राखिएको हो।
फकर्नेहरु खुशी
चीनको कोरोनाभाइरस प्रभावित प्रान्तबाट नेपाल फर्किएका नेपालीहरूले सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका छन्।
शनिवार हुबेको राजधानी वुहानबाट नेपाल वायुसेवा निगमको चाटर्ड विमानले आइतवार सबेरै १७५ नेपालीहरूलाई काठमाण्डू ल्याएको हो।
बिहान ३:३८ मा त्रिभुवन विमानस्थलमा अवतरण भएको विमानमा १७५ जना नेपाली रहेका थिए जसमा १७० जना विद्यार्थी, एकजना त्यहाँ रोजगार गरिरहेका व्यक्ति, दुईजना पर्यटक एवम् दुई बालबालिका रहेको बताइएको छ।
उद्धार गरिएका विद्यार्थी सौरभ लुइटेलले ट्विटरमा लेखेका छन्: “यस्तो भयावह अवस्थामा घर फर्कन पाउनुको खुसी व्याख्या गर्न सकिँदैन।”
उद्दार हुनेमा १३४ जना पुरूष र ४१ जना महिलाहरू रहेको नेपाली अधिकारीहरूले बीबीसीलाई बताएका छन्।
Finally arrived and settled here in Kharipati. The arrangements are much better than we expected. Feelings of coming back home in such adverse conditions are beyond description. Thank you all concerned authorities. #Happy pic.twitter.com/PuvzqpGhAl
— Saurav Luitel 🇳🇵 (@Luitel_saurav) February 16, 2020
नेपाल फर्केका अशोक शाहले ट्विटरमा राखेको एउटा भिडियोमा विमानभित्र सबैले ताली पिटेर खुसीयाली मनाएको देखिन्छ।
घर फर्कन पाउँदाको परिवेश देखाउन खोजिएको उक्त भिडिओसँगै शाहले लेखेका छन्: “अन्धकारबीचको खुसी, शून्यताबाट खुसीतर्फ।”

नेपाल फर्कनका लागि सुरुमा १८५ जनाले निवेदन दिएका भएपनि चार जनाले अन्तिम अवस्थामा उतै बस्ने निर्णय गरेका थिए।
चार जनालाई भने उड्ने बेलामा ज्वरो देखिएका कारण रोकिएको बताइएको छ। उनीहरूलाई उतै परीक्षण गरिने स्वास्थ्य मन्त्रालयले बताएको छ।
थप दुईजना उनीहरूकै आफन्त भएकाले उनीहरू समेत नेपाल नफर्किएको जनाइएको छ।
दुई हप्ते क्वारन्टीन बास
आइतवार बिहान उनीहरूलाई बसमा राखेर विमानस्थलबाट सिधै क्वारन्टीनस्थल पुर्याइएको थियो।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्डलाई आधार मानेर उद्धार गरिएकाहरूसँग काम गर्ने मानिसहरूले पालना गर्नुपर्ने नियमको प्रारूप समेत तयार पारिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका छन्।
बोर्डिङ पास लिदैं हामिहरु ! स्थानिय समय ८ बजेबाट लगेज र हेल्थ चेक हुँदै !! pic.twitter.com/5QJkGMSJJC
— Saurav Luitel 🇳🇵 (@Luitel_saurav) February 15, 2020
काठमाण्डू विमानस्थलमा समेत उनीहरूको स्वास्थ्य जाँच गरिएको थियो।
हुबेका छवटा विभिन्न सहरहरूबाट बेइजिङस्थित नेपाली दूतावासको पहलमा राजधानी वुहानमा भेला पारेर उनीहरूलाई नेपाल ल्याइएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ।


















