Prakash Adhikari March 2, 2020

काठमाडौं, १९ फागुन । मिर्गौला पुन प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ ।

उहाँ सोमबार साँझ अस्पताल भर्ना हुनुभएको हो । सबै कुरा सामान्य रहेमा बुधबार उहाँको मिर्गौला प्रत्यारोपण गर्ने तयारी अस्पतालले गरेको छ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्न्त्री ओलीलाई नातामा भान्जी पर्ने ३२ बर्षीया समीक्षा संग्रौलाले मिर्गौला दिने सहमति भएको छ । उहाँ पनि सोमबार नै अस्पताल भर्ना हुनुभएको छ ।

अलप नहुने बाचा

अस्पताल भर्ना जानुअघि भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले पुनः मिर्गौला प्रत्यारोपणपछि थप उर्जा र आत्मविश्वास लिएर काममा फर्किने विश्वास व्यक्त गनुभएको छ ।

विकास र समृद्धिका मुर्छित सपनालाई नेकपाले निर्वाचनमार्फत जागृत गराएको र तिनलाई बीचमै आफू अलप नहुने उहाँले वचन दिनुभएको छ । उहाँले भिडियो सन्देशमा भन्नुभएको छ, जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन त्यसैगरी जागृत हुँदै गरेका सपनालाई अलपत्र पारेर म पनि अलप हुन्न।

संसारमा कोही पनि अजम्बरी हुँदैन भन्ने सत्य बताउदै उहाँले आफ्नो स्वास्थ्यलाई लिएर ढुक्क हुन आग्रह गर्दै भन्नुभएको छ, म अस्पतालमा रहेका बेला सरकार, पार्टी र संसद संचालनका लागि आवश्यक व्यवस्था गरिएको छ ।

डा. ज्ञवालीको नेतृत्वमा प्रत्यारोपण

प्रम ओली

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्नेछ ।

ओलीको मिर्गौला प्रत्यारोपणमा  ज्ञवालीसँगै डा. उत्तम शर्मा, डा. पवनराज चालिसे, डा. दिव्या सिंह शाह, डा. सुवास आचार्य र रमेश सिंह भण्डारी लगायतका चिकित्सक रहेका छन्।  टोलीमा दुईजना एनेस्थेसियाका डाक्टर, ८ जना नर्स र अन्य स्वास्थ्यकर्मीसमेत रहने छन्।  यो टिममा निजी चिकित्सक डा. दिलिप शर्मा, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमी पनि रहनुहुन्छ। त्यसैगरी वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरलालाले प्रत्यारोपणका क्रममा सहयोग गर्नुहुनेछ ।

डाक्टर ज्ञवालीका अनुसार सुरु गरेको ३ देखि ५ घण्टामा प्रत्यारोपण सकिन्छ ।प्रत्यारोपणपछि बिरामीको अवस्था हेरेर ५ देखि ७ दिनमा अस्पतालमा राखिन्छ ।

अस्पताल स्रोतकाअनुसार भारतस्थित अपोलो अस्पतालका एक डाक्टरलाई पनि ल्याउने तयारी छ, जो १२ वर्षअघि ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न हुनुहुन्थ्यो ।२०६४ साउनमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसले राम्रोसँग काम नगरेपछि उहाँ साउन महिनादेखि सघन उपचार र कात्तिकदेखि नियमित डायलाइसिसमा हुनुहुन्छ ।

मोदीको शुभकामना
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीलाई सफल शल्यक्रियाको शुभकामना दिनुभएको छ।

त्यसको प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले दिनुभएको छ।

दोस्रो प्रत्यारोपण
सामान्यतया मिर्गौला दिने मान्छेलाई त्यति समस्या हुँदैन।तर प्रत्येक ६००० देखि ७००० जनामध्ये एकमा भने समस्या आउन सक्ने हुन्छ, विश्वव्यापी तथ्याङ्कतिर सङ्केत एक चिकित्सकले भन्नुभयो , चिकित्साशास्त्रमा यो तथ्याङ्कलाई राम्रै मान्नुपर्छ।

नेपालमा सन् २००८ बाट मिर्गौला प्रत्यारोपण हुन थालेको र शिक्षण अस्पतालमा दोस्रो पटक गरिने प्रत्यारोपण पनि भइसकेको विज्ञहरू बताउँछन्।
लाइभ डोनरका हकमा अन्य देशमा जस्तै नेपालमा पनि सफलहुने सम्भावना ९५ प्रतिशत भन्दा उच्च रहेको अहिलेसम्मको तथ्याङ्कले देखाएको छ ।

ओलीको यसअघि २०६४ सालमा भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण भएको थियो।

त्यस बेला उहाँलाई बुहारी नाता पर्ने अञ्जना घिमिरेले मिर्गौला दिनुभएको थियो। यसपटक पनि नातामा भाञ्जी ३२ बर्षीया समीक्षा संग्रौलाले उहाँलाई मृगौला दिंदै हुनुहुन्छ ।

सम्पन्न व्यक्तिले आर्थिक प्रलोभनमा पारेर प्रत्यारोपणका लागि अङ्गदाता खोज्ने प्रवृत्ति देखिएकाले मानवअङ्गको किनबेच नियन्त्रण गर्न नेपालमा आफन्तहरूबाट मात्र अङ्ग लिन पाइने कानुनी व्यवस्था छ।

प्रत्यारोपण पछि नियमति कामकाजमा फर्किन झन्डै डेढदेखि दुई महिना लाग्ने चिकित्सकहरूको भनाइ छ।

तर ती कुरा बिरामी अनुसार फरक हुन जान्छ।

तर ओलीले भने आफू पाँच दिन अस्पताल बस्ने र छैठौं दिन काममा फर्किने विश्वास व्यक्त गर्दै आउनुभएको छ।

जटिलता के हुन्
मिर्गौलाले काम नगर्दा मानिसहरूमा सुनिने, अरुचि हुने, रक्ताल्पता हुने, शरीरमा अम्लीय पदार्थ बढ्ने, सास फेर्न गाह्रो हुने आदि समस्या देखिने चिकित्सकहरू बताउँछन्।

मिर्गौला फेल भएको अवस्थामा प्रत्यारोपण नै गर्नुपर्ने हुन्छ। प्रत्यारोपण नहुँदासम्म डायालिसिस गर्नुपर्छ।

प्रधानमन्त्री केपी शर्मा ओली
एक पटक मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिले नियमित रूपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ। उनीहरूले नियमित औषधि पनि सेवन गर्नुपर्छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका मिर्गौलारोग विशेषज्ञ डा. महेशराज सिग्देलका अनुसार खासगरी तीन किसिमका औषधि दिइने गरिन्छ।

एक पटक प्रत्यारोपण गराएका व्यक्तिको अन्य रोगसँग लड्ने प्रतिरोधी क्षमता पनि कमजोर हुँदै जाने चिकित्सकहरू बताउँछन्।

मिर्गौलामा समस्या 

मिर्गौला

मधुमेह, उच्च रक्तचाप, पत्थरी, सङ्क्रमणजस्ता कारणले मिर्गौलासम्बन्धी रोग देखा पर्छ। कतिपयमा यो रोग वंशाणुगत पनि हुन्छ।

प्रा. डा. दिव्या सिंहका अनुसार मोटोपन बढी भएका मानिसमा यसको उच्च जोखिम हुन्छ।

यो रोगबाट बच्न धेरै गुलियो र चिल्लो भएका खानेकुरा कम खानु पर्दछ । त्यसबाहेक व्यवस्थित आहार गर्नुपर्ने हुन्छ।

४० माथि समस्या

प्रायः ४० वर्षमाथिका मानिसमा मिर्गौलाको समस्या बढी हुने पाइए पनि सबै उमेर समूहमा समस्या हुन सक्ने चिकित्सकहरू बताउँछन्।

मूत्रनलीमा अवरोध सिर्जना भएर, विभिन्न खाले सङ्क्रमण बल्झिएर, घाँटी खराब भई बारम्बार टन्सिलको समस्या भएर बालबालिकालाई मिर्गौलाको समस्या देखिन सक्ने सम्भावना रहन्छ।

मिर्गौलाको अवस्था कस्तो छ भन्ने कुरा रगत, पिसाब आदिको परीक्षणबाट थाहा पाउन सकिने चिकित्सकहरू बताउँछन्।

Share Now

Leave a comment.