काठमाडौं, २० फागुन । नेपाललाई विश्व स्वास्थ्य संघले कोरोना भाइरसको उच्च जोखिममा राखेपछि त्यसको असर श्रमको गन्तव्य मुलुकमा पर्ने भएको छ । सोमबार मात्रै कामका बहराइन जान लागेका ३० जना नेपालीलाई संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले यूएईको ट्रान्जिटबाटै फिर्ता पठाएको छ।
वैदेशिक रोजगारीका लागि यूएई हुँदै बहराइन जान लागेका नेपालीलाई नेपाल कोरोनाको उच्च जोखिममा रहेको देश भन्दै त्यहाँको सरकारले फिर्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले अत्यावश्यक कामबाहेक नेपालीलाई विदेश नजान सरकारले आग्रह गरेको छ।
विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेपछि सरकारले यसको रोकथामको लागि विशेष सतर्कता अपनाएको छ । सरकारले भीडभाडमा लामो समयसम्म नजान, बाहिर निस्कँदा मास्क लगाउन र भोजभतेर लगायतका काम नगर्न अनुरोध गरेको छ।
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले अत्यावश्यक काम भएका बाहेकलाई विदेश नजान सरकारले आग्रह गरेको छ। सोमबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले चीन, जापान, दक्षिण कोरिया, इरानलगायत कोरोना प्रभावित देशमा ट्राभल एड्भाइजरी नै जारी गरिएको र अरू देशमा जाने नागरिकलाई पनि सकेसम्म नजान आग्रह गरिएको बताउनुभएको थियो।
सरकारले देशभित्र पनि भोजभतेर तथा सभा, सम्मेलन नगर्न पनि अनुरोध गरेको छ।
गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण हाल ६५ भन्दा बढी देशमा फैलिइसकेको छ। चीनबाहेक विश्वका अन्य १० देशका नागरिकको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ ।
खाडी राष्ट्रमध्ये इरानमा हालसम्म ५४ जनाको मृत्यु भएको पुष्टि भएको छ।
कोरोना भाइरस प्रभावित देशमा जाने नेपालीलाई मङ्गलबारदेखि श्रम स्वीकृति दिन पनि बन्द गरिने भएको छ।
सर्वोच्च अदालतले सोमबार संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापान, दक्षिण कोरिया, इटली, चीनमा जान रोक लगाउन आदेश दिएसँगै ती देश जाने श्रमिकलाई श्रम स्वीकृति दिन स्वतः रोकिने वैदेशिक रोजगार विभागले जनाएको छ।
विभागका महानिर्देशक कुमारप्रसाद दाहालले सर्वोच्चले नेपाली पठाउन रोक लगाएका ती देशमा श्रम स्वीकृतिको काम आजबाटै रोकिने जानकारी दिनुभएको छ । उहाँले कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्दै गएको खण्डमा अन्य राष्ट्रमा पनि श्रम स्वीकृति दिने कार्य बन्द गर्न सकिने बताउनुभयो ।


















