काठमाडौं, २० फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४ औं महाधिवेशन कब्जा गर्ने उद्देश्यले संगठन परिचालन गर्न उद्दत हुँदै जानुभएको छ ।
पार्टीभित्र सहमति कायम नगरी २० वटा विभागका प्रमुख र पाँच केन्द्रीय सदस्य मनोनित गरेको दुईदिन पछि नै उहाँले सोमबार विभिन्न राजनीतिक दलबाट गत निर्वाचनको समयमा नेपाली कांग्रेसमा आएका दुई जनालाई केन्द्रीय सदस्य र ६ जनालाई आमन्त्रित केन्द्रीय सदस्य मनोनित गर्नुभएको छ ।
यस्तै पार्टीको विधानमा नरहेको तर नियमावलीमा व्यवस्थित गरिएको ज्येष्ठ राजनीतिज्ञ सभाको पनि उहाँले गठन गर्नुभएको छ ।
पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको प्रेस विज्ञप्ति अनुसार कांग्रेस सभापति देउवाले कांग्रेसमा प्रवेश गर्नुभएका सर्लाहीका जंगीलाल राय र डोल्पाका कर्णबहादुर बुढालाई केन्द्रीय सदस्य मनोनित गर्नुभएको छ । त्यस्तै कैलालीका मोहनसिंह राठौर , सर्लाहीका शम्भुलाल श्रेष्ठ, कपिलवस्तुका अभिषेक प्रताप शाह, लमजुड.का दयाराम पाण्डे, डडेल्धुराका जनकराज कलौनी र स्याड.जाका भूमिबहादुर (विश्व) गुरुङ्गलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ ।
नेपाली कांग्रेसको विज्ञप्तिमा राजनीतिक दलको सांगठनिक संरचना समायोजनका लागि पार्टीद्वारा गठीत समायोजन समितिको बैठकको निर्णयबाट यस सम्बन्धमा सिफारिस गरिएको जनाइएको छ ।पार्टीभित्र बर्षौदेखि संघर्ष गरेका कार्यकर्तालाई अनुशासनको डण्डा लगाएर निष्काशन गर्ने र अनुशासनको कारबाही पूरा भएकालाई पुन जिम्मेवारी नदिने पार्टी सभापति देउवाको नवागन्तुकलाई केन्द्रीय सदस्य बनाउने उदारता १४ औं महाधिवेशनको भोटको राजनीति मात्र हो भन्ने छर्लड.ग छ ।
नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ५० बमोजिम सभापति देउवाले गठन गर्नुभएको ३० सदस्यीय जेष्ठ राजनीतिज्ञ सभामा ढुण्डीराज शास्त्री (अर्घाखाँची),सूर्यमान गुरुङ (ताप्लेजुङ), पूर्णानन्द शर्मा (झापा),तेजमान तुम्वाहाम्फे (तेह्रथुम), छविकुमार शर्मा (दाङ्ग), देविध्वज बस्नेत (सोलुखुम्वु), डिल्लीप्रसाद सिटौला (झापा), हरिशंकर मिश्र (महोत्तरी), राजेन्द्र खरेल (काभ्रे), खेमराज पौडेल (कास्की), वावुराम पुरी (चितवन), सूर्यप्रसाद रेग्मी (स्याङ्जा), देवेन्द्रप्रसाद उपाध्याय (चितवन), भरतप्रसाद उप्रेती (धादिङ्ग),तोपमान गुरुङ्ग (चितवन), रामचन्द्र सिं (महोत्तरी), कृष्णबहादुर जोशी (पर्वत), चन्द्रप्रसाद न्यौपाने (गोरखा), लाल हमाल (जुम्ला),तारापति सुवेदी (स्याङ्जा), लक्ष्मीप्रसाद ताल्चाभडेल (ताप्लेजुङ्ग), तीर्थराज ज्ञवाली ‘चैतु’ (दाङ्ग), सूर्यदत्त जोशी (रुपन्देही), भगवती सिंह (रुपन्देही),केदार ढकाल (झापा–मेचीनगर),अन्तराम भट्ट (कञ्चनपुर), मदन चन्द (कञ्चनपुर), केशरवावु थुलुङ्ग राई (सोलुखुम्बु),प्रमेश न्यौपाने (झापा) र अजितनारायण सिंह थापा (धनकुटा) हुनुहुन्छ ।
पार्टी विधानमा व्यवस्था नभएको तर नियमावलीको दफा ५० मा व्यवस्था भएको सभामा नेपाली कांग्रेसमा रही लामो समयदेखि निरन्तर योगदान पु¥याउँदै आएका तर वर्तमान अवस्थामा पार्टीको कुनै पनि तहको पदीय जिम्मेवारीमा नरहेका ६५ वर्ष उमेर पुगेका पार्टीका जेष्ठ राजनीतिककर्मीको सहभागितामा केन्द्रीय सभापतिको अध्यक्षतामा केन्द्रमा जेष्ठ राजनीतिज्ञ सभा रहने र प्रदेशमा प्रदेशसभापति र जिल्लामा जिल्ला सभापतिको अध्यक्षतामा जेष्ठ राजनीतिज्ञ समिति
रहने प्रावधान छ । यसले पार्टीलाई सल्लाह, सुझाव र प्रेरणा दिने काम गर्नेछ ।
यो पहिलो पटक गठन भएको यो सभामा ७७ जिल्ला, पार्टीको लामो इतिहास, लैगिंक, जातीय, क्षेत्रीय, पिछडिएको क्षेत्र तथा जाति जनजातिको हिसाबले कतिको समावेशी छ भन्ने प्रश्न पनि उठीरहेको छ ।
यो सभामा समेत देउवाले पार्टीभित्रका असन्तुष्ट पक्षको प्रतिनिधित्व नगराएको आवाज उठने जोखिम बढ्दै गएको छ ।


















