ओटावा(क्यानडा),३०फागुन(एजेन्सी) । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडुकी श्रीमती सोफीलाई कोरोना संक्रमणको पुष्टी भएको छ। बिरामीको सम्पर्कमा रहेको हुनाले प्रधानमन्त्री ट्रुडु पनि अब १४ दिनसम्म छुट्टै बस्नुपर्ने भएको छ।
कोरोना आशंकामा प्रधानमन्त्री ट्रुडु र उहाँकी पत्नी सोफी बिहीबारदेखि ‘सेल्फ आइसोलेसन’ मा बस्नुभएको थियो ।
परीक्षणका रिपोर्टले सोफीलाई कोरोना संक्रमणका लक्षण देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
प्रधानमन्त्री जस्टिन ट्रुडुमा लक्षण नदेखिए पनि चिकित्सकहरूको सल्लाहबमोजिम उहाँ पनि १४ दिनको ‘सेल्फ आइसोलेसन’ मा बस्ने हुनुभएको छ।
‘पूर्वसावधानीका रुपमा र डाक्टरहरुको सुझावअनुसार प्रधानमन्त्री १४ दिनसम्म आइसोलेसनमा बस्नुहुनेछ ।
प्रधानमन्त्री कार्यालयका सूचना निर्देशकले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘डाक्टरकै सुझावअनुसार, यो चरणमा उहाँको कुनै थप स्वास्थ्य परिक्षण गरिनेछैन किनभने उहाँमा कुनै लक्षण देखिएको छैन।’
प्रधानमन्त्री ट्रुडुले शुक्रबार क्यानडाका जनतालाई पछिल्लो अवस्थाबारे संबोधन गर्ने पनि सो वक्तव्यमा उल्लेख गरिएको छ।
दुई दिनअघि लण्डनको एक कार्यक्रममा संबोधन गरेर फर्केपछि सोफीमा हल्का ज्वरो र अन्य मिडफ्लु जस्तै लक्षण देखिएको थियो।
यसैबीच, कोरोना (कोभिड १९) प्रकोपकै कारण क्यानाडामा भेला सम्मेलन पनि रद्द गरिएको छ।


















