वाशिड.टन डीसी(सयुक्त राज्य अमेरिका), १ चैत्र । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट आफ्नो देशका जनतालाई जोगाउन र कोरोनाविरुद्धको विश्वव्यापी लडाईलाई सार्थक पार्न अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार अमेरिकामा कोरोना वायरस आपत्काल घोषणा गर्नुभएको छ ।
यो घोषणासंगै अमेरिकी संघीय सर्रकार अब आपत र राहतको काममा ५० अर्ब डलर खर्च कर सक्नेछ । यसले संघीय सरकार र राज्य सरकारका बीचमा उचित समन्वयको पनि व्यवस्था गर्न सघाउने छ ।
शुक्रवार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले आम नागरिकलाई आफ्नो सरसफाई र स्वास्थ्यमा ध्यान दिन, अत्यावश्यक नपरेसम्म लामो यात्रामा ननिस्कन र भरसक धेरै जना जमघट हुने स्थानमा नजान सुझाइएको सन्देश दिनुभएको थियो ।
राष्ट्रपति ट्रम्पले आउने एक हप्ता अमेरिकाको लागि महत्वपूर्ण भएको बताउदै कोरोना भाइरसको प्रकोप विस्तार हुनबाट रोक्नको लागि यो कदम चालिएको बताउनुभयो ।
राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको प्रकोपसंग जुध्नकोलागि प्रारम्भमा भएको ढिलाई र हेलचक्र्याईको जिम्मेवारी आफूले नलिने पनि बताउनुभयो ।
अमरिकाले शुक्रबारबाटै लागू हुनेगरी यूरोपेली देशहरुबाट आउने तथा जाने सबै उडान ३० दिनका लागि निलम्बन गरेको छ । विदेशबाट अमेरिका प्रवेश गर्ने यात्रुहरुको सवै हवाई अड्डामा स्वास्थ्य जाँच गर्ने प्रबन्ध मिलाएको छ ।
हप्ताको सुरुमा अमेरिकी सिनेटका अल्पमतका नेता तथा न्यूयोर्कका डेमोक्र्याट सिनेटर चुक सुमर, वाशिंटनका डेमोक्रयाटिक सिनेटर प्याटि मुर्रे र मिचिगनका डेमोक्र्याट सिनेटर ग्यारी पिटरले कोरोनाको प्रकोपसंग जुध्नको लागि देशमा आपत्काल घोषणा गर्न राष्ट्रपति ट्रम्मलाई निवेदन दिनुभएको थियो ।
उनीहरुले आफ्नै बलबुतामा महामारीसंग जुध्न राज्य सरकारहरुले कठिनाइको सामाना गरिरहेको र देशभर समन्वय हुन नसकेको जनाउदै यस्तो अनुरोध गरेको जनाउनुभएको थियो ।


















