काठमाडौं, ५ चैत्र(एजेन्सी) । कोरोना भाइरस (कोभिड १९) संक्रमण यूरोपको इटाली र स्पेन तथा एशियाको इरानमा उच्च गतिमा फैलिएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट इटालीमा ३ सय ४५ जनाको मृत्यु भएको छ।
यस अवधिमा थप ३ हजार ५ सय २६ मा यसको सक्रमण देखिएको छ।
बुधबार बिहानसम्म इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ सय ३ पुगेको छ। इटालीमा संक्रमितको संख्या ३१ हजार भन्दा धेरै पुगेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।
मंगलबार स्पेनमा थप दुई हजार व्यक्तिमा कोरोना पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
स्पेनमा अहिलेसम्म कोरोना संक्रमणका कारण ५ सय ३३ जनाको मृत्यु भइसकेको छ।
मंगलबार मात्रै स्पेनमा १ सय ९१ जनाको मृत्यु भएको छ। संक्रमितको संख्या ११ हजार भन्दा बढी पुगेको छ।
युरोपमा कोरोना भाइरसका कारण बढी प्रभावित हुने इटालीपछि स्पेन दोस्रो मुलुक हो।
चीनमा लगभग कोरोना संक्रमण नियन्त्रणमा आइरहँदा युरोपियन मुलुकमा यसको महामारी तिब्र गतिमा फैलिँदै गएको छ।
त्यसैगरी इरानमा मंगलबार थप १ सय ३५ जनाको मृत्यु भएको छ। एकैदिन संक्रमणबाट थप एक हजार ७ सय ७८ जना प्रभावित बनेका छन्। अहिलेसम्म इरानमा कोरोनाको कारण ९ सय ८८ जनाको मृत्यु भइसकेको छ। संक्रमित १६ हजारभन्दा धेरै छन्।
विश्वव्यापी महामारीको रुप लिएको कोरोना विश्वका १ सय ६० भन्दा बढी देशमा फैलिइसकेको छ।
बुधबार बिहानसम्म यसको संक्रमणबाट ७ हजार ९ सय ६५ जनाको मृत्यु भइसकेको छ। २ लाख भन्दा धेरै यसबाट संक्रमित छन्। छिमेकी देश भारतमा कोरोनाबाट तीन जनाको ज्यान गइरसकेको छ।


















