काठमाडौं, ५ चैत्र । विश्वमा महामारीको रुपमा फैलदै गएको कोरोना भाइरसको संक्रमणबाट देश र आम नागरिकलाई जोगाउन सरकारले कडा निर्णय गरेको छ ।
सरकारले चैत्र ६ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । परीक्षा सुरु हुने अघिल्लो दिन साँझ मात्र सरकारले स्थगितको निर्णय गरेको हो । विद्यालयका विभिन्न कक्षाका अन्तिम परीक्षा छिटो सम्पन्न गराउन पहिल्यै निर्देशन दिएको सरकारले स्कुल, कलेज लगायतका शैक्षिक संस्था चैत मसन्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो गरेको हो।
समितिको बैठकले सुरुमा ‘२०७६ चैत ६ गतेदेखि सञ्चालन हुन गइरहेको एसईई परीक्षा प्रत्यक केन्द्रहरुमा स्वास्थ्य जाँचसहितको हेल्थ डेक्स स्थापना गरी सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गर्ने। तर, बालबिकास केन्द्र, अधारभूत तथा माध्यामिक विद्यालयहरु, विश्वसिवद्यालयहरुका पठनपाठनहरु २०७६ चैत्र मसान्तसम्मका लागि बन्द गर्ने’ निर्णय सार्वजनिक गरेको थियो। तर एसईईलाई निरन्तरता दिंदा कोरोना संक्रमणबाट बचाउन गरिएका अन्य निर्णयहरुको औचित्यमा प्रश्न उठने स्थिति भएकोले कम्तिमा चैत्र महिनाभर अन्य विद्यालयका अन्य कक्षा र कलेज बन्द गरिएजस्तै एसईई स्थगित गरि विद्यालय क्षेत्र पूर्णत बन्द गर्र्ने गरी निर्णय पछि सच्च्याइएको हो ।
विश्वभर कोरोना भाइरसको प्रकोप फैलिएपछि सरकारले त्यसको रोकथामका लागि यस्तो कदम चालेको हो। यसअघि नै कोरोनाबाट पूर्वसावधानी अपनाउनका लागि शैक्षिक संस्थाहरु बन्द गर्नुपर्ने माग उठ्दै आएको थियो।
मनोरञ्जन र खेलकूद तथा व्यायमस्थलहरु पनि बन्द
कोरोना भाइरस (कोभिड १९)को रोकथाम र नियन्त्रणका लागि सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब बन्द गर्ने निर्णय गरेको छ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले मानिसहरुको बढी जमघट हुने क्षेत्रहरुमा रोक लगाउने निर्णय गरेको हो।
सरकारले ‘सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने’ निर्णय गरेको हो।
यस्तै सरकारले सामाजिक तथा सांस्कृतिक र अन्य त्यस्तै कार्यहरु हुने पार्टीप्यालेस, मठमन्दिर, चर्च, गुम्बा, मस्जिदजस्ता धार्मिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसलाई भेला हुन बन्द गर्ने निर्णय पनि गरेको छ। सरकारले गरेका यी निर्णयको पालना भए नभएकोबारे प्रदेश र स्थानीय तहले अनुगमन गर्ने बताइएको छ।
त्यस्तै सार्वजनिक यातायातलाई सिट क्षमता भन्दा बढी यात्रु नराख्न आग्रह गरेको छ। त्यस्तै यात्रुहरुलाई पनि बढी भिडभाड गरी यात्रा नगर्नसमेत आग्रह गरेको छ।
संक्रमणमा परेका देशको आवागमन बन्द
सरकारले अबको एक महिनासम्मलाई युरोपसहित विभिन्न मुलुकबाट नेपाल आउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
विश्वभर फैलिएको कोरोना भाइरसबाट जोगिन कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले युरोपका सबै मुलुकहरु, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने सबै यात्रुलाई आगामी बैशाख ३ गतेसम्म नेपाल आउन प्रतिबन्ध लगाउने निर्णय गरेको हो। बैठकको प्रस्ताव अनुसार ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरुलाई २० मार्च २०२० मध्यरातिदेखि लागु हुने गरी १५ अप्रिल (वैशाख ३ गते) सम्म प्रतिबन्ध लाग्नेछ।
बैठकले यससम्बन्धी सूचना सम्बन्धित देशका कूटनीतिक नियोगमार्फत पठाइने जनाएको छ। सरकारले ट्राभल एडभाइजरी जारी गरिएको अवधिमा उडान यात्रा स्थगन या उडान कम्पनी आफैंले उडान रद्ध गरेको अवस्थामा यात्रुबाट अतिरिक्त शुल्क नलिने व्यवस्था पनि गर्ने भएको छ। त्यसको अनुगमन पर्यटन मन्त्रालयले गर्ने भएको छ।




















