काठमाण्डौ,१२ चैत्र । सरकारले स्थापना गरेको कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम कोषमा नेपाल धितोपत्र बोर्ड,पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले सहयोग घोषणा गरेका छन् ।
धितोपत्र बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले सरकारले स्थापना गरेको कोषमा ५० लाख रुपैया दिने घोषणा गरेको छ ।
त्यस्तै नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय बाणिज्य बैंकले कोरोना रोकथामका लागि स्थापित कोषमा १ करोड ५० लाख सहयोग गर्ने निर्णय गरेको छ ।
बैंकको सोमबार साँझ बसेको संचालक समितिको बैठकले कोरोना रोकथामका लागि सरकारलाई १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताउनुभएको छ ।
यस्तै कृषि विकास बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि १ करोड २५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
कोभिड–१९ कोरोना नामक भाइरससँग सावधानीपूर्वक डटेर सामाना गर्नका लागि व्यक्तिगत सुरक्षा सामग्री, स्वास्थ्य उपकरण, नमूना परीक्षण किट र क्वारेन्टाइनका लागि अत्यावश्यक सामग्री र बिरामीको उपचारको लागि उचित प्रबन्ध मिलाउन सरकारद्वारा स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा कृषि विकास बैंकले आर्थिक सहयोग स्वरुप उपलव्ध गराएको हो।
कोभिड–१९ ले आम विश्वसमुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपालीलाई कोरोनाभाइरसको संक्रमणबाट जोगाउन आफूहरुले सहयोग गरेको बैंकले जनाएको छ।


















