केशव कोइराला र नेत्र केसी/ बीबीसी न्यूज नेपाली
नेपालमा थप एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक अधिकारीले पुष्टि गरेका छन्।
योसहित नेपालमा भेटिएका सङ्क्रमित व्यक्तिको सङ्ख्या तीन पुगेको छ। तर तीमध्ये एक जना निको भइसकेका छन्।
प्रयोगशालामा नमुना परीक्षण गर्दा कोरोनाभाइरस भएको पुष्टि भएपछि ती सङ्क्रमित व्यक्तिलाई उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अलग्ग राखिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका राजेशकुमार गुप्ताका अनुसार ३०-३१ वर्षका ती बिरामी केही दिनअघि एक खाडी मुलुकबाट नेपाल आएका हुन्।
विभिन्न लक्षणसहित अस्पतालमा भर्ना भएका ती युवकबाट सङ्कलित नमुनाको पीसीआर विधिद्वारा परीक्षण गरिएको हो।
मङ्गलवार राति परीक्षणको परिणाम आएको गुप्ताले बीबीसी न्यूज नेपालीलाई बताए। स्वास्थ्य मन्त्रालयले दिउँसो ३:३० बजे यस विषयमा पत्रकार सम्मेलनमार्फत् जानकारी दिने तयारी गरिरहेको छ।
सबै सङ्क्रमितमा के छ समानता?
यसअघि सङ्क्रमण भएको पुष्टि भएका दुई जना पनि विदेशबाट फर्किएका व्यक्ति हुन्।
नेपालमा कोरोनाभाइरस परीक्षण ६८७
जाँचिएको नमुनाको सङ्ख्या६८४
सङ्क्रमण भेटिएन
३सङ्क्रमण भेटियो
स्रोत: nphl.gov.np, चैत्र १२ दिउँसो १ बजेसम्मको तथ्याङ्क
फेब्रुअरी महिनामा वुहानबाट नेपाल फर्किएका एक विद्यार्थीमा पहिलो पटक सङ्क्रमण देखिएको थियो। अहिले उनी स्वस्थ भइसकेका छन्।
गत साता फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी एक विद्यार्थीमा केही दिनअघि सङ्क्रमण भएको पुष्टि भएको थियो।
उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलामा अहिले उपचार भइरहेको छ।
दोस्रो व्यक्तिमा कोरोनाभाइरस भएको पुष्टि भएपछि सङ्क्रमण फैलिन नदिन सरकारले मङ्गलवारदेखि एक साताका लागि देशभरि हिँडडुलमा प्रतिबन्ध लगाएको छ।
के छ विश्वभरिको स्थिति?
विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिलेसम्म विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुने रोग कोभिड-१९ विश्वका १९६ देश तथा क्षेत्रमा पुगेको पुष्टि भएको छ।
नेपाली समयानुसार बुधवार दिउँसो १:३० सम्म प्राप्त तथ्याङ्कमा ३,७५,४९८ जनामा सङ्क्रमण भएको र तीमध्ये १६,३६२ जनाको मृत्यु भएको तथ्याङ्क विश्व स्वास्थ्य सङ्गठनले दिएको छ।
सङ्क्रमितमध्ये एक लाखभन्दा बढी जना निको भइसकेको बताइन्छ।

चीनको वुहानबाट फैलिन थालेको महामारीको केन्द्रबिन्दु अहिले युरोप बनेको छ। युरोपका इटली, स्पेन र फ्रान्स सर्वाधिक प्रभावित देश हुन्।
इटलीमा अहिलेसम्म ६,००० जनाभन्दा बढी र स्पेनमा २,१०० भन्दा बढी बिरामीको ज्यान गइसकेको छ।
चीनमा ८१,७०० भन्दा बढी मानिसमा सङ्क्रमण भेटिएकोमा ३,२८३ जनाको मृत्यु भयो।
तर अहिले त्यहाँ सङ्क्रमणको दर घटेको छ।
के छ दक्षिण एशियाको स्थिति?
दक्षिण एशियाका आठवटै देशमा सङ्क्रमण देखिएको छ। सर्वाधिक सङ्क्रमित व्यक्ति पाकिस्तान र भारतमा छन्।

पाकिस्तानमा सङ्क्रमण भएका मानिसको सङ्ख्या सर्वाधिक छ
कोभिड-१९ का कारण भारतमा सर्वाधिक नौ जनाको मृत्यु भएको छ।
पाकिस्तानमा सङ्क्रमित व्यक्तिको सङ्ख्या १,००० नाघेको सरकारी तथ्याङ्कले देखाएको छ। तीमध्ये सात जनाले ज्यान गुमाएका छन्।
बाङ्ग्लादेशमा चार जना र अफगानिस्तानमा एक जनाको मृत्यु भएको विवरण विश्व स्वास्थ्य सङ्गठनले दिएको छ।
सबै देशले सङ्क्रमण नियन्त्रण गर्न विभिन्न उपाय अवलम्बन गरेका छन्।
भारतले मङ्गलवार मध्यरातदेखि लागु हुनेगरी देशभरि २१ दिन हिँडडुल र अत्यावश्यकबाहेक अन्य गतिविधिमा प्रतिबन्ध लगाएको छ।


















