Prakash Adhikari April 19, 2020

 

क्वीटो(इक्वेडोर), ७ बैशाख । दक्षिण अमेरिकी मुुलुक इक्वेडोर कोरोनाभाइरस सङ्क्रमणको महामारीबाट नराम्ररी प्रभावित बनेको छ । त्यहाँ एकै रातमा ५ हजार भन्दा बढी मानिसको मृत्यु दर्ता भएको छ ।

एक्वडोरको ग्वाएआस क्षेत्रमा मृत्यु हुने व्यक्तिको अभिलेख जाँचिदा एउटा भयावह तथ्य थाहा भयो। एप्रिल महिनाका मध्यमा आई पुग्दा मृत्यु हुनेको सङ्ख्या ६ हजार ७ सय भएको देखियो। पुरानो तथ्याङ्कसँग तुलना गर्दा यो सङ्ख्या ५ हजार भन्दा बढी हो।

मृतकको सङ्ख्याले ग्वाएआस राज्यलाई देशको मात्रै नभई पूरै ल्याटिन अमेरिकाकै सबैभन्दा बढी कोरोनाभाइरस प्रभावित क्षेत्र बनाएको छ।

अनि यो केवल कोभिड १९ बाट भएको मृत्यु मात्रै होइन।

महामारीका कारण अन्य स्वास्थ्य समस्या भएका र तत्काल उपचारको आवश्यकतामा रहेका बिरामीहरूले उपचार नपाएका कारण पनि मृत्यु हुनेको सङ्ख्या बढेको स्थानीय स्वास्थ्य अधिकारीहरू बताउँछन्।

ग्वायाकिल मृतकहरूको सहर

‘हामीले मरेका मानिसहरू कार, एम्बुलेन्स, घर र सडकमा भेटेका छौँ ‘, ग्वायाकिलस्थित शवगृहमा कार्यरत एक कर्मचारीले बताइन।

मृत शरीरको छेउमा सटर अगाडि दुई महिला
सहरका घरबारविहीन केही मानिसहरू भोकका कारण सडकमै मरिरहेका छन्

‘उनीहरू अस्पतालमा भर्ना नहुनुको एउटा कारण बिरामी राख्ने शय्याको अभाव पनि हो। निजी क्लिनिकमा उनीहरू गए भने पैसा तिर्नुपर्छ र सबैले उपचारका लागि खर्च गर्न सक्दैनन्’, उनले भनिन्।

पच्चीस लाख जनसङ्ख्या रहेको यो सहर कोरोनाभाइरसबाट प्रभावित हुँदा शवगृहहरू थेग्नै नसक्नेगरी भरिएका छन् भने धेरैजसो बन्द भएका छन्।

कर्मचारी नै सङ्क्रमित हुन सक्ने डरका कारण ती शवगृह बन्द भएका हुन्।

निर्माणस्थलामा काम गर्दै एक मजदुर
अन्तिम संस्कारका लागि समाधिस्थल थप्ने काम धमाधम भइरहेको छ

केही आफन्तहरूले घरबाहिर शव छोडेका छन् भने अन्यले ओच्छ्यानमै त्यत्तिकै छोडेका छन्। धेरै दिनदेखि तिनको अन्तिम संस्कार हुन सकेको छैन।

ग्वायाकिलमा शव समाधिस्थ गर्न ठाउँ नपुगेकाले छिमेकी नगरहरूमा लैजाने गरिएको छ।

चरम माग भएकाले कार्डबोर्डको शवपेटिका प्रयोग हुन थालेको छ। स्थानीय कैदीहरूले पनि काठका शवपेटिका बनाइरहेका छन्।

शवगृहमा काम गर्ने कामदार
ग्वाएआसमा मृत्यु हुनेको सङ्ख्या १५ दिनमा पाँचगुना भएको छ

सङख्यामा वृद्धि

एक्वडोरका राष्ट्रपति लेनिन मोरेनोले देश विद्यमान स्वास्थ्य सङ्कटसँग सङ्घर्ष गर्न विफल भएको स्वीकार गर्नुभएको छ।

एप्रिल १६ तारिखसम्म सरकारले देशभरि कोरोनाभाइरसका कारण जम्मा ४ सय जनाको मृत्यु भएको भनी आश्वस्त पार्दै आएको थियो।

तर कोरोनाभाइरसको रोकथाम र नियन्त्रणका लागि बनेको संयुक्त कार्यदलले तथ्याङ्कको जिम्मा लिएपछि एकदमै फरक दृश्य देखा पर्‍यो।

‘गृहकार्यालय, शवगृह, हाम्रो टोली र नागरिक अभिलेखबाट तथ्याङ्क सङ्कलन गर्दा ग्वाएआसमा मात्रै एप्रिलका प्रथम १५ दिनमा लगभग ६ हजार ७ सय ३ जनाको मृत्यु भएको पाइयो’, सरकारले गठन गरेको कार्यदलका प्रमुख होर्हे वाटेडले भन्नुभयो,’यहाँ सरदर मासिक २ हजार जनाको मृत्यु भएको छ। त्यसैले सामान्य अवस्थामा भन्दा ५ हजार ७ सय धेरै मृत्यु भएका छन्।’

ग्वायाकिलमा अलपत्र शव
ग्वायाकिलमा शव गाड्ने ठाउँ सकिँदै गएको छ

ग्वाएआस प्रान्तमा भएका सबै मृत्यु कोभिड १९ सँग सम्बन्धित छैनन्।

केही मानिसको मुटु, केहीको मिर्गौला वा अन्य स्वास्थ्यसम्बन्धी समस्या भएर पनि सही समयमा उपचार नपाउँदा मृत्यु भएको हो।

अन्य क्षेत्रमा पनि असर

यसले प्रश्न उठेको छ -के महामारीले असर अन्य ल्याटिन अमेरिकी देशहरू र स्वास्थ्य सेवा प्रणाली कमजोर रहेका विश्वका अन्य क्षेत्रमा पनि यस्तै खालको असर पार्ला त ?

महामारी सुरु भएको चीनको वुहानमा पनि आधिकारिक तथ्याङ्कको फेरि जाँच गरिएको छ। त्यसबाट मृतकको सङ्ख्या बढेको देखिएको छ।

कोरोनाभाइरसबाट धेरै प्रभावित युरोपको एउटा देश स्पेनमा स्थानीय र राष्ट्रिय स्तरमा तथ्याङ्क सङ्कलन गरिएको तरिकामा विरोधाभास छ।

हुबे प्रान्तमा मास्क लगाएका एक व्यक्ति
चीनमा मृत्यु हुनेको सङ्ख्यामा १,३०० ले वृद्धि भएको छ तर मृत्यु हुनेको सङ्ख्या लुकाएको भन्ने आरोप भने उसले अस्वीकार गरेको छ
‘एक्वडोरको जनस्वास्थ्यमा सधैँ कमीकमजोरी देखिँदै आएको छ। सरकारी प्रशासनको यो एउटा एकदमै कमजोर पक्ष रहँदै आएको छ’, डा. कार्लोस मवायिनले भन्नुभयो।

उहाँका अनुसार एक्वडोरमा कोभिड(१९ का कारण अतिगम्भीर सङ्कट देखिएको छ।

कमजोर स्वास्थ्य सेवा प्रणाली र बिरामीको अधिक सङ्ख्याका कारण सघन उपचारसेवा पूर्ण रूपमा ध्वस्त बनेको छ’,उहाँले भन्नुभयो।

एक्वडोरले रात्रिकालीन कर्फ्यू थप लम्ब्याएको छ र थप परीक्षणहरू गर्न आह्वान गरेको छ।

तर आफ्ना प्रियजन गुमाएका ग्वायाकिलका मानिसहरूका लागि यो कदम एकदमै ढिला चालिएको र एकदमै कम भएको लाग्न सक्छ।

Share Now

Leave a comment.