Prakash Adhikari April 22, 2020

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), १० बैशाख । अमेरिकी प्रशासनले ग्रीन कार्ड ६० दिन रोक्ने निर्णय गरेको छ ।

अमेरिका प्रवेश गरेर स्थायी बसोबास गर्न चाहनेहरुलाई रोक्नकालागि अमेरिकाले यो अस्थायी कदम चालेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको कारण कटौति हुँदै गएको रोजगारीका बीच अमेरिकी नागरिकको रोजगारी सुरक्षित गर्न यो कदम चालिएको दावी गर्नुभएको छ ।

यो निर्णयले कामदारको लागि अस्थायी भिसामा प्रभाव नपार्ने जनाइएको छ ।

राष्ट्रपति ट्रम्पको यस कदमलाई कोरोनाभाइरसको संक्रमण नियन्त्रण,रोकथाम र संक्रमितको उपचारमा भएको उहाँको कमजोरीबाट आमनागरिकको ध्यान अन्यत्र मोड्न यो रणनीति लिनको समालोचकहरुले बताएका छन् ।

कोरोनाभाइरसबाट संसारभरमा सबैभन्दा बढी नागरिकले ज्यान गुमाउने राष्ट्रको शीर्षमा अमेरिका रहेको छ । अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसको संक्रमणमा परेर ४५ हजारभन्दा बढीले मृत्युवरण गरेका छन् ।

नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावको दौडमा रहेका डेमोक्रयाटिक पार्टीका नेताहरुले ट्रम्प प्रशासनले महामारीलाई आप्रवासीहरुको ढाड सेक्न प्रयोग गरेको आरोप लगाएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प, उहाँको प्रशासन र सिंगो रिपब्लिकन पार्टी आप्रवासीप्रति अनुदार मानिन्छ ।

राष्ट्रपतिको अघिल्लो निर्वाचनदेखि नै आप्रवासी अमेरिकनप्रति अनुदारवादी नीति लिनुभएका राष्ट्रपति ट्रम्पले पदबहालीपछि आप्रवासी रोक्न निरन्तर प्रयास गर्दै आउनुभएको छ ।

मंगलबारको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले यससम्बन्धी कार्यकारी आदेशमा बुधबार हस्ताक्षर हुने र यो लम्बिन सक्ने पनि बताउनुभएको छ । यो स्थिति महामारीपछि अमेरिकी अर्थतन्त्र कसरी उत्थान भएर आउछ त्यसमा भरपर्ने पनि बताउनुभयो ।

अमेरिकी राष्ट्रपतिका अनुसार कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि लिएका कदमबाट करिब २ करोड अमेरिकीले रोजगारी गुमाएका छन् र तिनको प्राप्तिको वातावरण सुुनिश्चित गर्नु सरकारको परम कर्तव्य हो । उहाँले यसरी विस्थापित भएका नागरिकको रोजगारी बाहिरबाट आएका आप्रवासीहरुले कब्जा नगरुन भन्ने यो कदमको उद्देश्य हो ।

जोन हप्किन्स विश्वविद्यालयको अभिलेख अनुसार अहिलेसम्म अमेरिकामा ८ लाख २० हजार मानिसहरु यसको संक्रमणमा परेका छन् ।

अमेरिकामा बर्षेनी ग्रीन कार्डबाट १० लाख मानिस छिर्ने गर्दछन् । झण्डै ७० प्रतिशत मानिसहरु अमेरिकामा रहेका आफना इष्टमित्रका कारण भित्रिने गर्दछन् । रोजगारीको हकमा भने अमेरिकामा बसेकालाई ८० प्रतिशतले रोजगारी दिने गरेकोले अस्थायी स्थायी बसोबासी हुने प्रवृत्ति अमेरिकामा बढ्दै गएको छ ।

Share Now

Leave a comment.