Prakash Adhikari April 23, 2020

काठमाडौँ, ११ बैशाख । एकीकृत नयाँ राजनीतिक दल दर्ताको लागि राष्ट्रिय जनता पार्टी(राजपां) र समाजवादी पार्टीका नेताहरु निर्वाचन आयोग पुगेका छन् ।

बुधबार मध्यरातमा राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका नेताहरु बीच पार्टीहरु एकीकृत गरी नयाँ पार्टी बनाउने सहमति भएको थियो । नयाँ पार्टीको नाम जनता समाजवादी पाटी राखिएको छ । राति भएको सहमति बमोजिम नयाँ दल गठन गर्न दुवै पार्टीका नेताहरु आयोगमा पुग्नुभएको हो ।

नयाँ दल दर्ता गर्न पूर्व समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ लगायत नेताहरु आयोग पुग्नुभएको थियो भने राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलकै नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी लगायत आयोगमा पुग्नुभएको छ ।

पार्टीका नेता केशव झाले निर्वाचन आयोगका सचिवलाई दल दर्ताको निवेदन बुझाइसकिएको जानकारी दिनुभएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को परिच्छेद २ मा राजनीतिक दलको गठन,दर्ता र खारेजी सम्बन्धी व्यवस्था रहेको छ । दलहरुको एकीकरण भएको अवस्थामा यस्तो व्यवस्था गरिएको छ :


१०. दलहरु एकीकरण हुन वा गाभिन सक्ने: (१) दफा ४ बमोजिम दर्ता भएका दुई वा दुईभन्दा बढी दलहरु एक आपसमा सम्झौता गरी एकीकरण हुन वा गाभिन सक्नेछन्।

(२) उपदफा (१) बमोजिम एकीकरण हुन वा गाभिन त्यस्तो सम्झौता भएको पैँतालीस दिनभित्र एकीकरण हुने वा गाभिने दलले आफ्नो विधान, केन्द्रीय समितिको निर्णय र उपदफा (१) बमोजिमको सम्झौताको प्रतिलिपि संलग्न गरी आयोगमा निवेदन दिनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिमको निवेदनमा त्यस्ता दलमध्ये कुनै दलको नाममा गाभिने वा नयाँ नाममा एकीकरण हुने कुरा समेत खुलाउनु पर्नेछ ।

(४) उपदफा (२) बमोजिम परेको निवेदन उपर आयोगले आवश्यक जाँचबुझ गर्नेछ र त्यसरी जाँचबुझ गर्दा दलहरु एकीकरण हुने वा गाभिने सम्बन्धमा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम पुरा हुनुपर्ने कार्यविधि र शर्त पुरा भएको देखिएमा निवेदन दर्ता भएको पैँतालीस दिनभित्र त्यस्तो दल एकीकरण गर्ने वा गाभिने निर्णय गरी त्यसको प्रमाणपत्र दिनेछ ।

(५) यस ऐन बमोजिम दल एकीकरण हुँदा वा गाभिँदा त्यस्ता दलको नाम, झण्डा, चिन्ह, सम्पत्ति वा दायित्व उपदफा (१) बमोजिमको सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ ।

(६) उपदफा (५) बमोजिम दल एकीकरण भएको वा गाभिएको बखत दलको सम्पत्ति वा दायित्वको व्यवस्थापन सम्बन्धी कुरा उल्लेख नभएमा त्यस्तो सम्पत्ति वा दायित्वमा एकीकरण भएको वा गाभिएको दलको स्वामित्व रहनेछ ।

(७) यस दफा बमोजिम दल एकीकरण भएको वा गाभिएकोमा एकीकरण हुनु वा गाभिनु अघि त्यस्ता दलले प्रयोग गरेको नाम, झण्डा वा चिन्ह एकीकरण भएको वा गाभिएको मितिले एक वर्षसम्म कसैले प्रयोग गर्न सक्ने छैन ।

तर,

(१) यो दफा प्रारम्भ हुनुअघि नाम, झण्डा वा चिन्ह तोकिई सकेका कुनै दल निर्वाचन मिति घोषणा भएपछि यस दफा बमोजिम एकिकरण भएमा वा गाभिएमा त्यस्तो दलले एकीकरण वा गाभिनु अघि साविकको दल कायम रहँदा प्रयोग गरेको कुनै नाम तथा झण्डा र सो दलले प्रयोग गरेका एक वा एकभन्दा बढी चिन्ह वा मतपत्रमा रहेका चिन्हमध्ये आयोगले निर्धारण गरेको अन्य चिन्ह उपदफा (१) बमोजिम गरेको सम्झौताको अधीनमा रही प्रयोग गर्नु पर्नेछ ।

(२) त्यस्तो दलले एउटा जिल्लामा एकभन्दा बढी चिन्ह प्रयोग गर्न सक्ने छैन ।

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “चिन्ह” भन्नाले चुनाव चिन्ह समेत सम्झनु पर्छ ।

(८) उपदफा (४) बमोजिम दलहरु एकीकरण भएको वा गाभिएको सूचना आयोगले नेपाल राजपत्रमा प्रकाशन गरी त्यसरी एकीकरण भएको वा गाभिएको विवरण दफा ५ को उपदफा (५) बमोजिमको अभिलेखमा अद्यावधिक गर्नेछ ।

(९) दलको एकीकरण वा गाभिने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।


 

Share Now

Leave a comment.