Prakash Adhikari April 23, 2020

 

काठमाडौं, ११ बैशाख । पृथ्वी दिवस मनाउन थालिएको ५० औं बर्षको अवसरमा अवसरमा कौशी खेती प्रबर्धन गरेर कार्बन उत्सर्जनमा कमी ल्याउने उद्देश्यले कौशी खेती तालीम दिइएको छ ।

गैर सरकारी संस्था गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले कौशी खेतीमा रुचि हुने उपत्यकाबासीलाई वेभमिनारमार्फत प्रत्यक्षअनलाईन कौसी खेती तालिम दिइएको बताउनुभएको छ ।

सन १९७० देखि हरेक वर्ष अप्रिल २२ को दिनमा पर्यावरणीय जनचेतना अभिबृद्धि गरी कार्बन उत्सर्जन न्यून गरेर पृथ्वीलाई जोगाउने सन्देश दिन पृथ्वी दिवस मनाइदै आइरहेको छ ।

यस वर्षको पृथ्वीदिवसको नारा जलवायु संरक्षणमा कारबाही थाल ‘‘क्लाइमेट एक्सन’’ रहेको छ ।

गुथिले यही नाराको सन्देशलाई साकार पार्न लकडाउनको अवस्थामा भान्छाको फोहोर व्यवस्थापन गर्न र आफैले तरकारी उत्पादन गर्न कौशी खेतीको प्रशिक्षण दिइएको जनाएको छ ।

यस तालिममार्फत घरमै रहेको जैविक फोहोर र आकाशे पानीको प्रयोग गर्दै घरको कौशी र आगनमै तरकारी खेती कसरी गर्न सकिन्छ भन्ने जानकारी दिइएको थियो । भान्छाबाट निस्कने फोहोरको प्रयोग गरेर मल बनाउने र उक्त मल कौशी खेतीमा प्रयोग गर्दा खाद्यचक्र पुरा हुनका साथै सहरी हरियालीमा वृद्विभई जलवायु परिवर्तनको प्रतिकूल असरलाई न्यूनीकरण गर्न यसले टेवा पु¥याउने विश्वास गुथिले लिएको छ ।

प्रशिक्षक तथा कौशी खेती विज्ञ शेषनारायण महर्जनले तालिमका सहभागीहरुलाई कौसी खेती गर्न चाहिने जानकारी, प्रविधि, घरमा रोप्न सकिने विभिन्न तरकारी बाली, कम्पोष्ट आदिका बारेमा दिनुभएको थियो । उक्त तालिममा ८ हजार १ सय ५२ जनाले जुम र फेसबुक लाइभ मार्फत सहभागिता जनाएको अमात्यले जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री गणेश शाहले हरेक नेपाली खाद्य उत्पादनमा लाग्नुपर्ने आवश्यकतालाई कोरोनाभाइरसको महामारीले बोध गराएको बताउनुभयो । उहाँले अब रेमिटेन्समा कमी आउने र बाहिरबाट खाद्यान्न सस्तोमा आउन नसक्ने भएकोले विलम्ब नगरी कृषि उत्पादनमा लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, हरेक नागरिकले कौशी खेती गरे यसको वहुआयामिकप्रभाव हुन्छ जसले हाम्रो कार्बन फुटप्रिन्ट कम गराउँछ र घर घरको फोहोर व्यवस्थापन हुन्छ ।

कार्यक्रममा सहभागिता जनाउदै प्रतिनिधि सभाका सदस्य जीवनराम श्रेष्ठले बढ्दो तापक्रमबाट पृथ्वीलाई जोगाउन शहरी बासिन्दाले कौशी खेती प्रबर्धन गर्नुपर्ने बताउनुभयो ।

तालिममा गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले सहरी कौशी खेतीले हरीयालीलाई बढाउन पनि मद्दत गर्ने र पृथ्वीको कार्वन फुटप्रिन्ट घटाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले कौसी खेतीद्वारा भान्छामा ताजा तरकारीको आपूर्ति सहज हुन गई यसले पोषण, स्वास्थ्यमा सकारात्मक योगदान दिने र तरकारी खरिदमा हुने खर्चमा कमी आई घरायसी खर्च बचतलाई प्रोत्साहित गर्ने पनि बताउनुभयो ।

गुथिले आउदा दिनमा कम्पोष्ट मल तयार पार्ने विधि, ई.एम. बनाउने, बालिचक्र आदिको विषयमा पनि अनलाईन तालिम प्रदान गर्ने जनाएको छ ।

Share Now

Leave a comment.