Prakash Adhikari May 10, 2020

काठमाडौं, २८ बैशाख । भारतले एकपक्षीय रुपमा नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्ग निर्माण गरेको घट्नालाई साझा पार्टीले भारतको हेपाहा प्रवृत्तिको संज्ञा दिएको छ ।

पार्टीका सहप्रवक्ता शरदराज पाठकले शनिवार एक विज्ञप्ति जारी गर्दै शुक्रबार सो मार्गको उद्घाटन भएको समाचारले पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ।

साझा पार्टीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘धेरै ठाउँमा नेपालको सीमा अतिक्रमण गरेको भारतले ६ महिना पहिले नयाँ नक्सा जारी गरी नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो दावी गरेकोमा अहिले थप हस्तक्षेप गर्दै सो सडक मार्ग निर्माण गरेको हो। त्यसको साझा पार्टी कडा भत्सर्ना गर्दछ।’

भारत सरकारको यस कदमले अन्तराष्ट्रिय कानुन विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप भएको उल्लेख गर्दै साझाले भनेको छ , ‘त्यो स्पष्टत भारतले बारम्बार देखाउँदै आएको हेपाहा प्रवृत्तिको अर्को नमूना हो।’

साझा पार्टीले भारतले गरेको सीमा अतिक्रमण र नयाँ नक्सामा नेपाली भूमि समेटिएको विषय सुल्झाउन नेपालका तर्फबाट परिणाममुखी कुटनीतिक संवाद हुन नसक्नुलाई दुखद् भनेको छ।

‘भारतबाट बारम्बार सीमा अतिक्रमणका घटना हुनुमा हाम्रो ‍कुटनीतिक कमजोरी पनि उत्तिकै जिम्मेवार छ’, साझा पार्टीले नेपालका शासकहरुको कमजोरीलाई उजागर गर्दै भनेको छ, ‘आफ्नो भूभागमा छिमेकी मुलुकले सडक निर्माण गरेर उद्घाटन गर्दासम्म नेपाल सरकार बेखवर रहेको देखिनु अत्यन्तै विडम्वनापूर्ण स्थिति हो।’

सो पार्टीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग रहेको स्पष्ट पार्दै पछिल्लो समय भारतले जारी गरेको नयाँ नक्सा सच्याउने आग्रहसहित भनेको छ , ‘भारतले सबै अतिक्रमित भूमि छोडेर जानु पर्छ ।’

Share Now

Leave a comment.