Prakash Adhikari May 10, 2020

 

काठमाडौं, २८ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालसंग कुनै सम्पर्क नै नगरी नेपाली भूभाग लिपुलेक भञ्ज्याड.सम्म सडक निर्माण सम्पन्न गरेको घट्नामा सरकारलाई भारतसंग परिणाममुखी कुटनीतिक र राजनीतिक पहल गर्न आग्रह गर्नुभएको छ ।

भारतीय अतिक्रमण र नेपाल सरकारको अकर्मण्यताबारे आइतबार एक वक्तव्य जारी गर्दै संघीय संसदको प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको नेता रहनुभएका कांग्रेस सभापति देउवाले भन्नुभएको छ,’ कालापानी लिपुलेक, लिम्पियाधुरा लगायतका भू–भाग नेपालका हुन् । सरकारमा रहेका बेला होस् या आज प्रतिपक्षमा छंदा यी भू–भाग बारे नेपाली कांग्रेसले सदैब प्रष्ट धारणा राख्दै र आवश्यक भूमिका निभाउंदै आएको छ ।’

उहाँले सन् २०१५ मे मा भारत र चीनका प्रधानमन्त्रीले लिपुलेक बारे बेइजिङमा सहमति गरेपछि नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेकोे सरकारले दुबै देशका सरकारलाई ‘प्रोटेस्ट नोट’ पठाएर नेपालका तर्फबाट प्रष्ट धारणा र गम्भीर असहमति प्रकट गरेको पनि स्मरण गर्नुभएको छ ।

उहाँले सन् २०१९ नोभेम्बरमा भारत सरकारले आफ्नो देशको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका नेपाली भू–भाग समाविष्ट गरेर प्रकाशित गरेपछि तत्कालै नेपाली कांग्रेसले कडा प्रतिक्रिया जनाएको बताउनुभएको छ । उहाँले त्यसबेला प्रधानमन्त्रीद्वारा आयोजित सर्वदलीय बैठकमा “भारतीय सेना रहेको कालापानी लगायतका भूमी नेपालको हो, त्यहाँबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ र सीमानाको नदी महाकाली पूर्वका हाम्रा सबै भू–भाग फिर्ता गर्न सरकारले उच्च स्तरीय कुटनैतिक र राजनैतिक पहल गर्नुपर्छ” भन्ने प्रष्ट धारणा व्यक्त गरेको स्मरण गर्दै “त्यसका लागि नेपाली कांग्रेसको पूर्ण साथ सरकारलाई रहने” घोषणा गरेको पनि उल्लेख गर्नुभएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका कांग्रेस सभापति देउवाले लिपुलेक बारेको पछिल्लो प्रकरण सार्वजनिक भए लगत्तै “चीनको मानसरोवर जोड्न भारत सरकारले लिपुलेक हुँदै बनाएको सडक उद्घाटन गरेको समाचारबारे नेपाल सरकारको धारणा” माग गर्दै उच्चस्तरीय कुटनैतिक पहलमार्फत दीर्घकालीन समाधान खोज्न”,सरकारलाई आग्रह गरिएको पनि बताउनुभएको छ ।

कांग्रेस सभापति देउवाले दुई दिनको अवधिमा सरकारले उच्च स्तरीय कुटनैतिक पहल प्रारम्भ नगरेर गम्भीर बिषयमा केवल वक्तव्य मात्रै जारी गरेकोमा असन्तुष्टी जनाउदै सरकारलाई कुटनैतिक र राजनैतिक रूपमा उच्च स्तरीय पहलकदमी गर्न अपिल पनि गर्र्नुभएको छ ।

उहाँले नक्सा प्रकरणमा पनि सरकारको भूमिका केवल वक्तव्यमा सिमित रहनु र अहिले फेरि त्यही प्रवृत्ति दोहरिनु दुःखद भएको उल्लेख गर्दै राष्ट्रवादको प्रश्न केवल वक्तव्यको बिषय होइन, यो परिणाममुखी हुनुपर्दछ भन्ने कुरामा नेपाली कांग्रेस प्रष्ट भएको बताउनुभएको छ ।

नेपालको भू–भागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढंगले रहनु पर्ने विषयमा सरकारले गम्भीर कुटनैतिक पहलकदमी मार्फत समाधान खोज्न प्रक्रिया थालनी गरोस्, दउवाले वक्तव्यमा भन्नुभएको छ, राष्ट्रियताको प्रश्नमा नेपाली कांग्रेसको सम्पूर्ण साथ सरकारको साथमा रहनेछ ।

Share Now

Leave a comment.