Prakash Adhikari May 17, 2020

 

काठमाडौं, ४ जेठ । नेपालमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणमा परेका बिरामीहरुको संख्या २ सय ९१ पुगेको छ ।

आइतबार रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार आइतबार कोरोना संक्रमण पोजेटिभ देखिएका १० जना रौटहटको राजपुर र इशनाथ नगरपालिकाका बासिन्दा हुन् । उनीहरु राजपुरको फरहदा–९ निवासी सात जना र इशनाथ नगरपालिकाको ५ र ७ नं वडाका पुरुषहरु भएको बताइएको छ ।उनीहरु १८ देखि ४८ बर्ष उमेर समूहका रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा उनीहरुको स्वावको परीक्षण भएको थियो । उनीहरूको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

विश्वभर ९६ नेपालीको गयो ज्यान, ६ हजार ७ सय ८१ संक्रमित

गैरआवासीय नेपाली संगठनले कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ९६ नेपालीको मृत्यु भएको जनाएको छ ।

प्रवासी नपालीहरुमा बेलायतमा ६३ जना,अमेरिकामा १५ जना, संयुक्त अरब इमिरेट्स (युएई) मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्विडेनमा १ र नेपालमा १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिनुभएको छ । मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला छन् ।

सो साता युकेमा १२, युएईमा ३, साउदी अरबमा २ र नेपालमा एक जनाले कोरोना भाइरसको संक्रमणको कारण ज्यान गुमाएको एनआएएनएको स्वास्थ्य समितिले जनाएको छ ।

डा.सापकोटाका अनुसार नेपालबाहेक विश्वभर ६ हजार ७ सय ८१ गैरआवासीय नेपालीहरू कोरोनाबाट संक्रमित भएका छन् । तीमध्य मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोपमा १९ र एसियामा ५ प्रतिशतमा कोरोना संक्रमणमा देखिएको छ । अस्ट्रेलियामा एक प्रतिशतभन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकहरुमा रहेका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छैन ।

संक्रमितमध्ये ३५ प्रतिशतभन्दा बढी नेपालीहरू कोरोना भाइरसबाट मुक्त भएको अनुमान सो समितिले गरेको छ ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकहरूको समूहले तयार पारेको आँकडाअनुसार ११ देशमा गैरआवासीय नेपालीहरूको ज्यान गएको छ भने बाँकी १९ देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट संक्रमित छन् ।

Share Now

Leave a comment.