Prakash Adhikari May 17, 2020

 

नेपालगञ्ज(बाँके), ४ जेठ (रासस) । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको आज मृत्यु भएको छ।

गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासी स्वास्थ्य असामान्य भएपछि क्वारेन्टिनमै मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताउनुभयो ।

संयोजक खानका अनुसार बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवकको मृत्यु भएको थियो।

क्वारेन्टिनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित हुन पुगेका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले रातिदेखि स्वास्थ्यमा समस्या देखिएकामा बिहान करिब ६ बजे युवकको मृत्यु भएको बताउनुभयो।

कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिबार नै सङ्कलन गरिसकिएकाले आजै रिपोर्ट आउने उहाँको भनाइ छ।

एकैदिन आठ सङ्क्रमित भेटिएको नरैनापुरमा शनिवार सङ्क्रमितको सम्पर्कमा आएका २ सय ६३ जनाको स्वाब सङ्कलन गरिएको थियो।

पहिलो चरणमा सङ्क्रमित आठ जनाको सम्पर्कमा आएका २ सय ८४ जनाको कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गर्न नेपालगञ्जबाट स्वास्थ्य टोली खटिए पनि शनिबार २ सय ६३ जनाको सङकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत एवम् कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो।

श्रेष्ठका अनुसार पहिलो चरणमा नरैनापुरका विभिन्न स्थानमा क्वारेन्टिनमा राखिएका र सङ्क्रमितको सम्पर्कमा आएका २ सय ८४ जनाको स्वाब सङ्कलन गरिँदैछ।

यस क्रममा आवश्यकताका आधारमा थप आशङ्कितको पनि स्वाब सङ्कलन गर्न सकिने छ।

भारतबाट आएका व्यक्तिमा सङ्क्रमण देखिएकाले अन्यत्र फैलिन नदिन सजगता अपनाइएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो।

उहाँले भारतबाट आएका नागरिकबाट कोरोनाको जोखिम रहेकाले परीक्षण गर्न गराउन गाउँपालिकावासीलाई आग्रहसमेत गरे।

राप्तीपारि दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुरको सीमामा भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासी अलपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारेन्टिनमा राखेको छ।

गत बुधबार जिल्ला स्वास्थ्य कार्यालय नेपालगञ्जबाट खटिएको स्वास्थ्य टोलीले त्यहाँ शङ्कास्पद ४५ जनाको स्वाब नमूना सङ्कलन गरी भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा नरैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय आठ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

हाल नरैनापुर गाउँपालिकामा निर्माण भएका ११ क्वारेन्टिनमा रहेका ६४१ नेपाली सबै भारतबाट आएका हुन्।

पछिल्लो समयमा भारतका विभिन्न ठाउँमा बाँके प्रवेश गर्नेमा नरैनापुरका बढी छन्। भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासी सीमामा अलपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारेन्टिनमा राखेको छ।

नरैनापुरका सङ्क्रमित आठै जनालाई उपचारका लागि दाङको बेलझुण्डीस्थित प्रदेश सरकारको कोरोना विशेष आइसोलेशन अस्पतालमा पठाइएको छ। बाँकेमा सङ्क्रमित ३३ पुगेसँगै यहाँका अन्य स्थानीय तहले सतर्कता अपनाएका छन्।

Share Now

Leave a comment.