काठमाडौं, ४ जेठ । कोरोना भाइरस महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि नेपाली सेनाको संयोजनमा चीनबाट खरिद गरिएको पहिलो चरणको स्वास्थ्य सामग्री काठमाडौं भित्रिएको छ।
चीनको होङजुबाट स्वास्थ्य सामग्री लिएर हिँडेका १० कन्टेनर चीनको खासा र नेपालको तातोपानी हुँदै काठमाडौं आइपुगेका हुन्।
ती सामग्री त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित सेनाको १४ बाहिनीमा सङ्कलन गरिएको छ।
नेपाल सरकारको तर्फबाट नेपाली सेनामार्फत चिनिया सरकारसंग संझौता गरी खरिद गरिएको ३ सय ४३ टन स्वास्थ्य सामग्री मध्ये पहिलो चरणमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने डिस्पोजल गाउनलगायतका १ हजार १ सय ८० क्युबी स्वास्थ्य सामग्री ल्याइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभएको छ।
खरिद गरिएकामध्ये केही ४७ दशमलव ५ टन स्वास्थ्य सामग्री केही दिनभित्रै नेपाल वायुसेवा निगमको जहाजबाट ल्याइनेछ। त्यसका लागि निगमको जहाज सोमबार चीनको ग्वाञ्जाओ जाँदैछ। बाँकी सम्पूर्ण स्वास्थ्य सामग्री सडक मार्गबाट भएर ल्याइनेछ।
नेपालले चीनसँग कोभिड– १९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक उपकरण, पिपिईलगायत ७३ प्रकारका सामग्री खरिद गर्ने सम्झौता गरेको थियो।
खरिद गरिएका बाँकी सामग्री बोकेका केन्टेनर हाङ्गुबाट गत वैशाख २४, २६ र २८ गते नेपालतर्फ प्रस्थान गरिसकेका छन्। ती कन्टेनरलाई नेपाल आइपुग्न १० देखि १२ दिन लाग्नेछ।
नेपाली सेनाले कोभिड– १९ को जोखिम न्यूनीकरण र रोकथामका लागि क्वारेन्टाइन र अस्पतालसमेत निर्माण गरिरहेको छ।
मुलुकको आवश्यकता र कोभिड– १९ ले निम्त्याएको सङ्क्रमण रोकथाम एवं नियन्त्रण गर्ने सन्दर्भमा सेनाले मास्क, सेनिटाइजर र पिपिइको उत्पादनसमेत गर्दै आएको छ।
सरकारले सम्भावित कोरोनाको सङ्क्रमण जोखिमको मूल्याङ्कन गरी समयमै ‘बन्दाबन्दी’ घोषणा गरेका कारण नेपालमा हालसम्म २ सय ८१ जनामा कोरोनाबाट सङ्क्रमित भएका छन् भने एक जनाको मृत्यु भएको छ।
हालसम्मको अध्ययन र अनुसन्धानबाट सामाजिक दूरी कायम गर्नु नै सङ्क्रमणबाट जोगिने उत्तम उपाय मानिएको छ।


















