Prakash Adhikari May 27, 2020

काठमाडौं, १४ जेठ । नेपालमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ८ सय ८६ पुगेको छ । बुधबारमात्रै १ सय १४ जनामा संक्रमण पुष्टि भएपछि यो संख्या पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको छ। पोजेटिभ देखिने सबै सप्तरीका हुन्।

यसैगरी कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना पोजेटिभ देखिएको छ।

यता हेटौडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ।

त्यस्तै पोखरामा भएको परीक्षणमा बागलुङका ४ जनामा पोजेटिभ देखिएको छ। दाङमा भएको परीक्षणमा रुकुम पूर्वका ३, दाङका १५ गरी १८ जनामो पोजेटिभ देखिएको छ।

भेरी अस्पतालमा भएको परीक्षणमा १६ जना पोजेटिभ देखिएको प्रवक्ता डा. देवकोटाले बताउनुभएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ रिपोर्ट आएको छ।

संक्रमण देखिएका मध्ये पुरुष ७ सय ९६ र महिला ९० रहेका छन्। नयाँ संक्रमितहरुको क्वारेन्टाइनमा उपचार सुरु गरिएको उहाँले बताउनुभयो।

अहिले देशभरिका आइसोलेसनमा ६ सय ९९ जना संक्रमित रहेका छन्। प्रदेश नम्बर १ मा ७३, प्रदेश नम्बर २ मा २ सय २६, बागमती प्रदेशमा २७ र गण्डकी प्रदेशमा ११ आइसोलेसनमा उपचाररत छन्।

यस्तै प्रदेश नम्बर ५ मा ३ सय २५, कर्णाली प्रदेशमा २५ र सुदूरपश्चिम प्रदेशमा १२ जना उपचाररत रहेको प्रवक्ता देवकोटाले बताउनुभएको छ।

बुधबारसम्म १ सय ८३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। प्रदेश नम्बर १ मा ३०, प्रदेश नम्बर २ मा ९७, बागमती प्रदेशमा ११ र गण्डकी प्रदेशमा २ जना निको भएर घर फर्किएका छन्।

यस्तै प्रदेश नम्बर ५ मा ३८ र सुदूरपश्चिम प्रदेशका ५ जना पनि निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

बुधबार मात्रै नारायणी अस्पतालबाट २८ जना, कोसी अस्पतालबाट ४ र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २ जना डिस्चार्ज भएको मन्त्रालयले जानकारी दिएको छ ।

Share Now

Leave a comment.