Prakash Adhikari August 7, 2020

काठमाडौं, २३ साउन । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन अन्तर्गतका कार्यालयहरुले १६ दिनका लागि अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने भएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सो निर्णय गरेको हो।

गत साउन १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको संक्रमणको अवस्थाको आँकलन गरी यसको संक्रमण फैलन नदिन आवश्यक उपाय अबलम्बन गर्न स्थानीय प्रशासनलाई अधिकार दिने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले संयुक्त निर्णय गरेका हुन् ।

उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले आइतबारदेखि शान्ति सुरक्षा, ठाडो निवेदन र उजुरी, मुद्दासम्बन्धी कार्य, अत्यावश्यक कामका लागि सवारी पास र विपद् व्यवस्थापनसम्बन्धी कार्यबाहेक अन्य सेवाहरु सम्बन्धित कार्यालयले दिन नसक्ने सूचित गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयहरुले दिएको सूचना अनुसार नयाँ नागरिकता वितरण र नागरिकता प्रतिलिपि वितरण,हतियार दर्ता र नवीकरण, पत्रपत्रिका र संस्थाको दर्ता र नवीकरण,निजी सुरक्षा कम्पनी दर्ता र नवीकरण, राहदानी वितरण, नाबालिग परिचय पत्र वितरण र अन्य अत्यावश्यक सेवामा नपरेका सेवाहरु १६ दिन बन्द रहने भएका छन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला कार्यकारी जीवन दुलालले जिल्ला प्रशासन कार्यायल अन्र्तगतका सबै कार्यालयहरु आईतबार साउन २५ गतेदेखि भदौ ८ गते सम्मको लागि बन्द गरिने बताउनुभयो ।

यस्तै उक्त छलफलमा कोरोना संक्रमणको उच्च जोखिम देखिएका टेकु र महाबौद्ध क्षेत्र सिल गर्ने समेत निर्णय भएको छ ।

Share Now

Leave a comment.