Prakash Adhikari August 17, 2020

 

काठमाडौं, १ भदौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले पार्टीभित्र देखा परेका समस्यालाई समाधान गर्ने सुझाव दिन अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठन गर्नुभएको कार्यदललाई अनुमोदन गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको बैठकले पार्टीभित्र देखिएको समस्यलाई समाधानका लागि सुझाव दिन कार्यदल गठन गर्नुलाई सकारात्मक समेत भनेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभएको छ।

‘कार्यदलले आज राष्ट्रसामु देखा परेका कार्यभारलाई पूरा गर्न पार्टी र सरकार सक्षम हुनेगरी गर्नुपर्ने कामहरूका बारेमा सुझाव दिन सफल हुनेछ भन्ने आशाकासाथ कार्यदललाई शुभकामना पनि दिएको छ’,प्रवक्ता श्रेष्ठले भन्नुभयो,’छिटोभन्दा छिटो समस्याको समाधान हुने, संकटको समाधान निस्किने, पार्टी एकताबद्ध हुने पार्टी र सरकारका कामहरू प्रभावकारी ढंगले अगाडि बढ्ने र महाधिवशेनमा जानेतर्फ केन्द्रित हुनुपर्छ।’

कार्यदलले कति समय दिइएको छ भन्ने प्रश्नमा प्रवक्ता श्रेष्ठले छिटोभन्दा छिटो यसले प्रतिवेदन बुझाउने समेत बताउनुभयो।

गत शुक्रबार प्रधानमन्त्री एवम् नेकपा प्रथम अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलले ६ सदस्यीय कार्यदल बनाएको थियो।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको कार्यदलमा स्थायी समिति सदस्यहरू भीम रावल,पम्फा भुसाल,जनार्दन शर्मा,सुरेन्द्र पाण्डे र शंकर पोखरेल रहनुभएको छ।

अध्यक्षहरूले कार्यदलबाट प्राप्त सुझावलाई समेत परिमार्जन गरेर सचिवालय या स्थायी कमिटी बैठकमा प्रस्तुत गरी पार्टीभित्र देखा परेको विवाद समाधान गर्नुहुने उहाँले बताउनुभयो ।

केही दिनभित्र पार्टीभित्र हाल देखिएका समस्याहरुको निकास र निश्कर्ष निस्कनेमा आफू विश्वस्त रहेको प्रवक्त श्रेष्ठले बताउनुभयो ।

Share Now