Prakash Adhikari August 18, 2020

 

सानेपा(ललितपुर), २ भाद्र । नेपाली कांग्रेसले आषाढ र साउन महिनामा परेको अविरल वर्षाका कारण आएको पहिरो र बाढीबाट प्रभावितहरुको लागि ४५ लाख रुपैया सहयोग गरेको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार प्रथम चरणमा ३० जिल्लाका बाढी तथा पहिरो पीडितका लागि प्रति जिल्ला डेढ लाखका दरले सहयोग प्रदान गरिएको हो ।

कांग्रेसले लम्जुङ, सिरहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बाग्लुङ, म्याग्दी,पाल्पा, ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, पर्वत, सिन्धुपाल्चोक, महोत्तरी, पर्सा, धादिङ, पाँचथर, तेह्रथुम, मकवानपुर,बारा, सर्लाही, काभ्रे, रसुवा, धनुषा, सिन्धुली, बझाङ,जाजरकोट, खोटाङ, बाजुरा र कास्की जिल्ला कार्यसमितिका नाउमा सो सहयोग पठाएको छ ।

कोरोनाको कहरमाथि थपिएको बाढी–पहिरोले पुर्याएको पीडामा मल्हम लगाउन नेपाली कांग्रेसको केन्द्रीय समितिले यो सहयोग पठाएको हो । जिल्ला कार्यसमितिहरुले स्थानीय स्रोत साधनको परिचालन गरी पीडितहरुलाई थप सहयोग गर्न सक्नेछन् ।

काग्रेसले बाढी र पहिरो पीडितहरुको उद्धार, राहत र पुनःस्थापना अभियानमा सक्रिय रही पीडितहरुलाई सहयोग पुर्याउन जिल्ला र स्थानीय तहका पार्टी संरचना र कार्यकर्ताहरुलाई निर्देशन पनि दिएको छ ।

Share Now

Leave a comment.