Prakash Adhikari August 22, 2020

 

लण्डन (संयुक्त अधिराज्य), ६ भाद्र (बीबीसी) । ब्रिटेनस्थित लिलाम गर्ने एउटा कम्पनीले महात्मा गान्धीको एउटा चस्मा ४ करोड ८ लाख रुपैयाँमा विक्री गरेको छ।

एक अमेरिकी सङ्ग्रहकर्ताले उक्त चस्मा लिलाम बढाबढमार्फत् खरिद गरेका हुन्।

ईस्ट ब्रिस्टल अक्शन्स् लिमिटेडका अनुसार अगस्ट महिनाको ३ तारिखमा एउटा साधारण खामभित्र कुनै व्यक्तिले छोडेको अवस्थामा उक्त चस्मा फेला पारिएको थियो।

आफूहरूले शुरूमा अनुमान गरेकोभन्दा बढी रकममा चस्मा विक्री भएको कम्पनीका एन्ड्र्यू स्टोले बताउनुभएको छ।

उक्त चस्माको मूल्य बताइँदा त्यसको स्वामित्व भएका व्यक्ति झन्डै मूर्च्छित भएको उहाँ बताउनुहुन्छ।

चस्माको स्वामित्व भएको ब्रिस्टलको म्यानगस्ट्सफील्डका वयोवृद्धले लिलामीबाट आएको रकम आफ्नी छोरीसँग बाँड्ने बताउनुभएको छ।

ईस्ट ब्रिस्टल अक्शन्स् लिमिटेडका एन्ड्र्यू स्टोले भन्नुभयो, ‘लगभग ५० वर्षसम्म त्यो चस्मा दराजभित्र त्यसै थियो। लिलामीमा राख्ने व्यक्तिले कुनै कामको चिज नभएको भन्दै त्यसलाई फालिदिन्छु भनेर मलाई एकताका भन्नुभएको थियो।’

‘चस्माको स्वामित्व भएको व्यक्तिका लागि यो लिलामी राम्रो कुरा हो। बुढेसकालमा उहाँलाई यो ठूलो रकम निकै काम लाग्ला।’,उहाँले थप्नुभयो, ‘महात्मा गान्धीको चस्मालाई एउटा नयाँ ठाउँमा पुर्‍याउन पाएकोमा हामीलाई खुशी लागेको छ। यो लिलामी हाम्रो लागि नयाँ कीर्तिमान त हुँदै हो तर ऐतिहासिक रूपमा पनि महत्त्वपूर्ण छ  ।’

पत्र-मन्जूषामा कसरी पुग्यो चस्मा ?

स्टोका अनुसार खामभित्र त्यो चश्मा हालेर शुक्रवार राति पत्रमन्जूषामा कसैले खसालिदिएका थिए र सोमवारसम्म चस्मा त्यहीँ थियो।

खाममा चस्मा फेला परेपछि उनले आफ्ना मालिकसँग सम्पर्क गरी चस्माको महत्त्वबारे बताए।

‘हामीले मिति जाँच्यौँ। सबै कुरा मिल्यो, गान्धीले चस्मा लगाउन थालेको मिति पनि मिल्यो’, स्टोले भन्नुभयो, ‘हाम्रा एक कर्मचारीले हामीलाई चस्मा भएको त्यो साधारण खाम दिए र त्यसमा भएको एउटा पत्रमा त्यो चस्मा महात्मा गान्धीको भएको लेखिएको थियो।’

महात्मा गान्धी
अनुसन्धान गर्दा सुनको जलप लगाइएको घेरा भएको उक्त गोलाकार चस्मा वास्तवमै नागरिक अधिकारका लागि सङ्घर्ष गरेका भारतीय नेता गान्धीले लगाएको पत्ता लागेपछि आफू झन्डै कुर्सीबाट लडेको उहाँ बताउँनुहुन्छ।

‘मैले ती व्यक्तिलाई फोन गरेँ अनि उनलाई झन्डै हृदयाघात भए जस्तो मलाई लाग्छ’, स्टोले भन्नुभयो।

ती व्यक्तिका अनुसार उनको परिवारका एक व्यक्तिले सन् १९२० को दशकमा गान्धीलाई दक्षिण अफ्रिकामा भेटेका थिए।

त्यसपछि उक्त चस्मा आफ्नो परिवारको स्वामित्वमा आएको उनको भनाइ छ।

Share Now

Leave a comment.