काठमाडौं, ६ भाद्र । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको समस्या समाधानका लागि सुझाव दिन महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले शनिवार अपरान्ह प्रतिवेदन बुझाएको छ।
गत साउन ३० गते पार्टीभित्रको विवाद समाधानका लागि सुझाब दिन अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले महासचिव पौडेलको संयोजकत्वमा दोस्रो पुस्ताका नेताहरु सम्मिलित ६ सदस्यीय कार्यदल गठन गर्नुभएको थियो ।
शनिबार बालुवाटारमा कार्यदलको बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएसँगै दुई अध्यक्षलाई बुझाएको हो।
कार्यदलले प्रधानमन्त्री निवास बालुवाटारमा सो प्रतिवेदन बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमार्फत जानकारी दिनुभएको छ।
https://www.facebook.com/surya.thapa.754918/posts/3266986253393856
महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको कार्यदलमा स्थायी समिति सदस्यहरू भीम रावल, पम्फा भुषाल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र शंकर पोखरेल रहनुभएको थियो।
सो कार्यदललाई भाद्र १ गते बसेको सचिवालय बैठकले अनुमोदन गरेको थियो ।
कार्यदलले पार्टी सचिवालयबाट अनुमोदन भएको छ दिन मै प्रतिवेदन बुझाएको हो ।
कार्यदलले अघिल्लो शनिबारदेखि नै काम सुरु गरेको थियो ।
प्रतिवेदनका मुख्य बूँदाहरु :
- पार्टी एकताको महत्त्वलाई आत्मसात गर्ने,
- पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने,
- कार्यविभाजन स्पष्ट पार्नुपर्ने,
- पार्टी एकताका बाँकी काम सम्पन्न गर्नुपर्ने
- राजनीतिक तथा संगठनात्मक रुपमा गर्नुपर्ने ,
- एकताको राष्ट्रिय माहाधिवेशन चैतमा गर्ने,
- सरकारको काम कारवाही प्रभावकारी बनाउने,
- संसदीय दलको भूमिका प्रभावकारी बनाउने,
- प्रदेश र स्थानीय सरकारलाई थप प्रभावकारी बनाउने,
- नेपालको सीमा समस्या र समाधान सम्बोधन गर्ने,
- कोभिड १९ को महामारी रोकथाम, नियन्त्रण र आर्थिक पुनरुत्थान गर्ने,
- बाढीपहिरोबाट सिर्जित समस्याको सामनाको उपाय अवलम्बन गर्ने,
- शान्ति प्रकृयाका बाँकी काम सम्पन्न गर्ने,
- एमसीसी सम्झौता राष्ट्रिय हितमा हुने गरी गर्नुपर्ने ।


















