काठमाडौं, १३ भाद्र । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसको आगामी १४ औं महाधिवेशनमा आफ्नो चुनावी एजेण्डा अगाडि सार्नुभएको छ ।
शुक्रबार रेडियो काठमाडौं ९२.१ मेगाहर्जसंग कुरा गर्दै उहाँले आफू सभापति निर्वाचित भएपछि गर्ने कामको संक्षिप्त रुपरेखा प्रस्तुत गर्नुभएको हो ।
उहाँले आफू सभापति भएपछि पहिलो काम नै पार्टी विधानलाई समयानुकूल , ब्यबहारिक र काम गर्न सजिलो हुने ढंगले संशोधन गर्ने बताउनुभएको छ।
‘म सभापति भएपछि तीनवटा काम गर्नेछु। पहिलो पार्टी एक गर्ने, दोस्रो विधान परिवर्तन गर्ने र तेस्रो महिलालाई पार्टीमा ५० प्रतिशतको व्यवस्था गर्ने’ उहाँले भन्नुभयो।
प्रतिपक्षी दलका महामन्त्री डा. कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाबाट पार्टीलाई सही ढंगले नेतृत्व दिन नसक्नुभएको बताउदै अब पार्टीमा परिवर्तन हुनुपर्ने बताउनुभयो।
‘पार्टी सभापतिले संगठन त हाँक्नुपर्यो नि । कोषाध्यक्षको पदमात्र मनोनित हुन्छ। जो सभापति भएपनि पार्टी उसले कसरी चलाउँछ’ महामन्त्री डा. कोइरालाले भन्नुभयो, ‘पदाधिकारी सबैको निर्वाचन गर्ने कुरा मलाई पटक्कै चित्त बुझेको छैन।’
उहाँले पार्टीमा महामन्त्री र उपसभापति २र२जना भए एउटा मनोनित र एक निर्वाचित हुने व्यवस्था राख्नुपर्ने विचार पनि सार्वजनिक गर्नुभएको छ।
अहिलेको विधान बनाउने बेलामा नै यो विधानले पार्टी चल्दैन भनेको स्मरण गर्दै उहाँले आफूले वीपी कोइरालाको बेलामा जस्तै प्रेसिडेन्सियल सिस्टममा चल्ने बैधानिक व्यवस्था गरौं भन्ने प्रस्ताव गर्दा वर्तमान नेतृत्वले ध्यान नदिएको गुनासो पनि गर्नुभयो ।
कांग्रेसका महामन्त्री डा. कोइरालाले सबैलाई मिलाएर आफू सभापतिको उम्मेदवार बन्ने विश्वास पनि व्यक्त गर्नुभयो।
उहाँले देशलाई समृद्ध बनाउन कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ।
महामन्त्री कोइरालाले विगतमा पार्टीमा दुःख गरेका र प्रवासमा रहेर संघर्ष गरेकाहरुको आवाजलाई सुनेर सबै कार्यकर्ताको मनोभावना बुझेर पार्टीलाई एकताबद्ध, गतिशील, सुदृढ, संगठित, सबल बनाएर आउने चुनावमा देशको पहिलो स्थानमा ल्याउने आफ्नो एजेण्डा रहेको पनि उल्लेख गर्नुभयो ।


















