काठमाडौं, १४ भाद्र । नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट विगत २४ घण्टामा सर्बाधिक मानिसमा संक्रमण र मृत्यु भएको भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार विगत २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १ हजार २ सय २१ जनामा संक्रमण भएको पुष्टि भएको छ ।
यो वृद्धिसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ३८ हजार ५ सय ६१ पुगेको छ।
आइतवार अपरान्ह मन्त्रालयमा आयोजित दैनिक प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार
अहिले देशभरि १७ हजार ५ सय १८ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये १० हजार ६ सय १२ जना संस्थागत आइसोलेशनमा र बाँकी ६ हजार ९ सय जना घरमै छन्।
अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।
मृतक कहाँका ?
आइतवार मृत्यु पुष्टि भएकाहरूमा चार जना महिला र १० जना पुरुष रहेका छन्।
तीमध्ये महोत्तरीका तीन जना, सुनसरी र रूपन्देहीका दुई दुई जना रहेका छन्।
मृत्यु हुने महिलाहरूमा सुनसरीकी ७४ वर्षीया, बाराकी ४७ वर्षीया, महोत्तरीकी ६२ वर्षीया र काठमाडौंकी ७२ बर्षीया रहेका छन्।
पुरुषहरूमा सुनसरीका ६० वर्षीय, मोरङका ६२ वर्षीय, महोत्तरीका ७० र ३५ वर्षीय, रौतहटका ३० वर्षीय, ललिपुरका २९ वर्षीय, भक्तपुरका ६५ वर्षीय, नवलपरासीका ६२ वर्षीय एवम् रुपन्देहीका ५७ र ६७ वर्षीय व्यक्ति रहेका छन्।

सङ्क्रमित कहाँका ?
आइतवार सङ्क्रमण पुष्टि भएकाहरूमा सबैभन्दा बढी काठमाडौं जिल्लाका ३ सय ७२ जना रहेका छन्।
त्यस्तै बाराका ८२ जना, धनुषाका ७५ जना, रूपन्देहीका ६१ जना, मोरङका ४९ जना, बझाङका ४७ जना र पर्साका ४६ जनामा सङ्क्रमण भएको छ।
आइतवार ललितपुर १२ र भक्तपुरमा ४५ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ।
परीक्षणको स्थिति
विगत २४ घण्टाको अवधिमा १२ हजार ७ सय १७ वटा नमुनाको परीक्षण गरिएको थियो।
सो अवधिमा २ सय ६७ जना सङ्क्रमणमुक्त देखिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए। अहिलेसम्म ५४ प्रतिशत सङ्क्रमितहरू निको भइसकेका छन्।
देशभरि क्वारेन्टाइनमा ७ हजार ७ सय ९७ जना छन्।
सङ्क्रमितमध्ये गम्भीर लक्षण देखिएका २ सय १७ जना भेन्टिलेटरमा छन्।
मन्त्रालयतले भदौ ११ गते बिहीवार १ हजार १ सय ११ जनामा सङ्क्रमण देखिएको पुष्टि गरेको थियो। त्यसअघि भदौ २ गते सङ्क्रमितको सङ्ख्या पहिलो पटक १ हजार नाघेको थियो।


















