Prakash Adhikari October 9, 2020

 

काठमाडौं, २३ असोज । समाजका विपन्न वर्गलाई बिना धितो सामूहिक जमानीमा कर्जा प्रवाह गरेर स्थानीय स्तरमा आय आर्जन गर्ने र रोजगारी अभिबृद्धि गर्दै देशबाट गरिबी हटाउन मुख्य भूमिका खेल्दै आएका लघु वित्त संस्थाका प्रतिनिधिहरुले कोरोना जस्तो घातक भाइरसको संक्रमणबाट बच्नु नै ठूलो कुरा भएकोले यो समयमा नाफाभन्दा कर्मचारी र ऋणीहरुको जीवनप्रति बढी चिन्तित हुनुपर्ने बताउदै बाँचे अर्को बर्ष नाफा खाउला भन्ने सन्देश दिएका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण मुलुकमा अबलम्बन गरिएको लकडाउन,निषेधाज्ञा र यसको संक्रमणको त्रासले लघुवित्त संस्थाहरुको काम कारबाहीमा परेको असरबारे सेन्टर फर माइक्रो फाइनान्सले बिहिबार राजधानीमा आयोजना गरेको वेबिनारका सहभागीहरुले सो कुरा बताएका हुन् ।

कार्यक्रममा सहभागी नेपाल लघवित्त संघका अध्यक्ष बसन्त लम्सालले भन्नुभयो, ‘कोरोना भाइरसको अनपेक्षित असरले लघुवित्त संघलाई प्रतिकूल असर पारेको छ । भाखा नाघेका कर्जाको अंश बढेको छ । लकडाउनका कारण कार्यालयहरु सञ्चालन गर्न नसकेर, कर्मचारीहरु फिल्डमा जान नसकेर,ऋणीहरुले आफ्ना उत्पादन बिक्री वितरण गर्न नसकेर कर्जा असुली र नाफामा असर परेको छ तर सबैभन्दा ठूलो कूरा यो महामारीमा बाच्न पाउनु पर्यो । बाचे नाफा खाऔला ।’

उहाँले प्रदेश २ को सरकारले लघुवित्त संस्थाबाबाट कर्जा लिएका ऋणीहरुको ब्याज भुक्तानी गरिदिएकोले सो प्रदेशमा कार्यरत संस्थाहरुलाई राहत भएको पनि बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकको लघुवित्त प्रबर्धन तथा सुपरीवेक्षण विभागका निर्देशक डा.प्रकाशकुमार श्रेष्ठले लघुवित्तहरुको मासिक अनुगमन भएको उल्लेख गर्दै कर्जा प्रवाह र ब्याज भुक्तानी कम भएको बताउनु भयो ।

उहाँले लघुवित्त संस्थाहरुको क्लाइन्ट प्रोटेक्सन फण्डामा ३ अर्र्ब रुपैया रहेकोले सो कोष यो महामारीबाट प्रभावितहरुको हितमा प्रयोग गर्न सकिने संभावना पनि औल्याउनुभयो ।

कार्यक्रममा सेन्टर फर माइक्रो फाइनान्सका पूर्व अध्यक्ष एवम् नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर गणेशबहादुर थापाले कोरोना भाइरसको संक्रमणले पार्न सक्ने प्रतिकूल असर र त्यसबाट बच्न गर्नुपर्ने उपायका बारेमा यस्ता छलफलले सघाउने बताउनुभयो ।

कार्यक्रममा अनुसन्धानकर्ता भरत थापाले लघुवित्तहरुको साँबा र ब्याज भुक्तानीलाई कोरोनाको कहरले कठिन बनाएको बताउनुभयो ।

कार्यक्रमका अर्का सहभागी पिताम्बर आचार्यले ब्याज तिर्न सक्ने अवस्था सिर्जना भएमा लघुवित्तहरु यो संकटबाट उत्रिने बताउनुभयो ।

कार्यक्रममा सेन्टर फर माइक्रो फाइनान्सका कार्यकारी अध्यक्ष डा. रेवतबहादुर कार्कीले कोरोना जस्तो घातक भाइरसको संक्रमण र सोको त्रासले लघुवित्त क्षेत्रमा निकै असर गरेको बताउनुभयो । उहाँले लक डाउन र निषेधाज्ञाका कारण कार्यालयहरु सञ्चालन गर्न कठिन अवस्था सिर्जना भएको, कर्मचारीहरु फिल्डमा जान कठिनाई भएको र लगानीको साँबा र ब्याज उठाउन पनि कठिन भएको उल्लेख गर्नुभएको थियो ।

सेन्टर फर माइक्रो फाइनान्सका कार्यकारी अध्यक्ष डा.रेवत बहादुर कार्कीको सभापतित्वमा भएको सो कार्यक्रमको सञ्चालन सो संस्थाका उपकार्यकारी अधिकृत नरेश नेपालले गर्नुभएको थियो ।

Share Now

Leave a comment.