Prakash Adhikari October 9, 2020

 

काठमाडौं,२३ असोज । नेपाली काँग्रेसको पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईं (खनुपरुदे) को ९९ वर्षको उमेरमा निधन भएको छ ।

शुक्रबार मध्यान्न १२ बजे चावहिलस्थित ओम अस्पतालमा प्रसाईँको निधन भएको काँग्रेस प्रचार विभागका प्रमुख तथा प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ । उहाँका श्रीमति, तीन छोरा र दुई छोरीहरु छन् ।

प्रसाईलाई उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या आएपछि एक साताअघि ओम अस्पताल भर्ना गरिएको थियो । उहाँलाई कोरोना संक्रमण पनि भएको थियो ।

नेपाली सेनाको शव व्यवस्थापन टोलीले दिउँसो ४ बजे प्रसाईँको दहास्कार गर्ने कार्यक्रम रहेको छ ।

२०४६ देखि २०४८ सम्म झापा काँग्रेसका सभापति हुनुभएका नेता प्रसाई मेची र कोशी अञ्चलको संयोजक हुँदै २०४८ देखि २०५२ सम्म पार्टीको केन्द्रीय कोषाध्यक्ष हुनुभएको थियो । कोइराला परिवारका बिपी, गिरिजादेखि कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, सुवर्णशमशेर राणाहरूसम्म प्रसाईँको राम्रो सम्बन्ध थियो ।

२००३ सालमा नेपाली काँग्रेस स्थापनादेखि नै राजनीतिमा सक्रिय रहनुभएका २०६२ सम्म काँग्रेसमा सक्रिय हुनुहुन्थ्यो । पार्टीका हरेक कार्यमा अग्र मोर्चामा रहने खनुपरुदे प्रजातन्त्र स्थापना र पुनस्थापनाको आन्दोलनमा पटकपटक जेल पर्नुभएको थियो ।

राजा महेन्द्रले २०१७ साल पुस १ गते जननिर्वाचित सरकारलाई अपदस्त गरी संसद समेत विघटन गरेर लोकतन्त्रको गला निमोठे पछि कांग्रेस नेता सुुवर्णसमशेरको आह्वानमा सुरु भएको २०१८ सालको सशस्त्र आन्दोलनका क्रममा पक्राउ परेर २०२० साल माघसम्म २५ महिना प्रसाईले पहिलोपटक लामो समय जेल जीवन बिताउनुभएको थियो ।

जेलबाट छुटे पनि इलामबाहिर जान नपाउने गरी नौ महिना उहाँलाई एरियाबन्दी बनाइयो । त्यसपछि प्रसाईले सिलिगुडीमा सात वर्ष प्रवासी जीवन बिताउनुभएको थियो ।

२०२७ सालसम्मको प्रवासी जीवन बिताएर २०३३ साल पुस १६ गते मेलमिलाप नीति लिएर बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, नीलाम्बर पन्थी र खुमबहादुर खड्कासँग पटनाबाट नेपाल फर्किनुभएका प्रसाईलाई राजद्रोहसहितका दुईवटा मुद्दामा २०३३ पुसदेखि २०३६ असारसम्म झापामा जेल सजाँय दिइएको थियो ।
२०३० को चर्चित नेपालको विमान अपहरण काण्डपछि तत्कालिन सत्ताले भारतीय सरकारको समेत सहयोगमा भारतको सिलिगुडीदेखि पुर्नियासम्मका सीमा बजारदेखि बनारससम्म झिसमिसेमै एकैसाथ छापा हान्दा सिलिगुडीमा रहेका प्रसाईको विस्तरामुनिबाट प्रहरीले २ सय २० थान गोली बरामद गरेको थियो । त्यसपछि प्रसाई १५ दिन थुनामा र दुई वर्ष एरियाबन्दीमा पर्नुृभएको थियो ।

Share Now

Leave a comment.