काठमाडौं, २९ असोज । प्रधानमन्त्री के.पी. शर्मा ओलीले बुधबार पुनर्गठन गर्नुभएको मन्त्रिपरिषद्का तीन मन्त्रीहरुको सपथग्रहण ११ :३० मा राखिएको छ । तर नियमित रुपमा ११ : ०० बजे खुल्ने नेपालको सेयर बजारमा भने देशको अर्थतन्त्रको जिम्मा पाउनुभएका पौडेलको नियुक्तिले नै निकै उत्साह थपेको छ ।
सेयर बजारका लगानीकर्ताहरु पौडेलको नियुक्तिले पूँजी बजारमा उहाँको पहिलो कार्यकालमा जस्तो बृद्धि हुने अपेक्षामा छन् । उहाँ पहिलो पटक अर्थमन्त्री हुँदा सेयर बजारले ऐतिहासिक कीर्तिमान कायम गरेको थियो । नेप्से परिसूचक १८८१.४५ अंकमा पुगेको थियो ।
अहिले नेपालको ३३ औ अर्थमन्त्रीका नियुक्त हुनुभएका पौडेललाई प्रधानमन्त्री के.पी. शर्मा ओलीले आफ्नो पहिलो क्याबिनेटमा पनि २९ औ अर्थमन्त्रीको रुपमा नियुक्त गर्नुभएको थियो। १९ कार्तिक २०७२ मा पहिलो पटक नेपालको अर्थमन्त्रीमा नियुक्त हुनुभएका पौडेल त्यसपूर्व पटक पटक मन्त्री बनिसक्नुभएको थियो। उहाँ पहिलो पटक २९ फागुन २०५३ सालमा राप्रपा एमाले सरकारमा ३७ कर्षको उमेरमा युवा तथा खेलकुद मन्त्री बन्नुभएको थियो ।
२०७२ को विनाशकारी भूकम्प र नाकाबन्दीले मुलुकको आर्थिक अवस्था जर्जर अवस्थामा पुर्याएको अवस्थामा अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका पौडेलको कार्यकालमै २०७३ साल साउन १२ गते सेयर बजार सर्वाधिक उचाई कायम गर्दै नेप्से परिसूचक १८८१.४५ अंक छोएको थियो ।
रोचक कुरा के छ उहाँ अर्थमन्त्री नियुक्त हुँदा अघिल्लो दिनको तुलनामा १.६२ अंक घटेर १०९०.६८ अंकमा ओर्लिएको नेप्से सोही साता नेप्से २ .३८ अंक बढ्दै २०७३ साउन १२ मा नयाँ कीर्तिमान कायम गरेको थियो । उहाँको कार्यकालमा नेप्से परिसूचक ७५३.११ अंकको छलाड. हानेको थियो ।
करिब १० महिना पछि १७ साउन २०७३ मा अर्थ मन्त्रीबाट बिदा हुँदै गर्दा नेप्से परिसूचक १८४५.४१ अंकमा झरेको थियो। जबकि अघिल्लो दिन सूचक १८६२.७६ अंकमा रहेको थियो।
त्यतिबेला भूकम्प र नाकाबन्दीका कारणबाट अर्थतन्त्रमा पुगेको नकारात्मक असरलाई सहीमार्गमा ल्याए जस्तै यतिबेला पनि कोरोना भाइरसको विश्वब्यापी महामारी र नेपालमा अनपेक्षित रुपमा फैलिएको संक्रमणका कारण ओरालो लागेको अर्थतन्त्रलाई सही मार्गमा ल्याउने जिम्मेवारी पौडेलको काँधमा आएको छ । सेयरबजारका लगानीकर्ता पहिलेको जस्तै बुम हुने आशामा छन् । के तिनको अपेक्षा पूरा होला त ?


















