पेरिस(फ्रान्स), १३ कार्तिक(बीबीसी) । फ्रान्सको दक्षिणी शहर निसमा चक्कु आक्रमणमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ।
घटनामा अन्य कैयौँ व्यक्ति घाइते भएका छन्।
प्रहरीले गोली हानेर सन्दिग्ध हमलाकारीलाई नियन्त्रणमा लिएको विवरण प्राप्त भएको छ जसलाई अहिले अस्पताल पुर्याइएको छ।
प्रहरीका अनुसार मृतक तीनमध्ये दुई जनालाई गिर्जाघरभित्र मारिएको थियो।
आतङ्कवादी हमला
सो शहरका प्रमुख क्रिस्टियाँ एस्ट्रोजफीले त्यसलाई आतङ्कवादी हमला भन्नुभएको छ।

पत्रकारहरूसँग कुरा गर्दै मेयर एस्ट्रोजफीले सन्दिग्ध हमलाकारीले ूघटनास्थलमा बारम्बार अल्लाह हु अकबर (ईश्वर महान् छन्) भनेको बताएका थिए।
फ्रान्सका आन्तरिक मामिलामन्त्रीले घटना भएको ठाउँतिर नजान मानिसहरूलाई अपील गर्नुभएको छ।
फ्रान्सका प्रतिआतङ्कवादसम्बन्धी अभियोजनकर्ताहरूले घटनाबारे अनुसन्धान शुरू गरेका छन्।
त्यहाँको संसद्मा एक मिनेट मौनधारण गरिएको छ जहाँ प्रधानमन्त्री जँ क्यासटेक्सले बिहीवार रातिदेखि कार्यान्वयनमा आउने लकडाउनका उपायबारे जानकारी गराइरहनुभएको थियो।



















