बैतडी, २७ माघ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई अपराधिक मनोवृत्तिका व्यक्तिले बलात्कार गरी घाटी थिचेर हत्या गरेको पाइएको छ।
जिल्ला अस्पताल बैतडीमा गरिएको पोष्टमार्टम रिपोर्टले भागरथीको बलात्कार पछि हत्या भएको निष्कर्ष निकालेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले भन्नुभयो, ‘पोष्टमार्टम रिपोर्ट आज हामीलाई प्राप्त भएको छ। रिपोर्टले हामीले आशंका गरेकै कुरालाई पुष्टि गरेको छ । स्वासप्रस्वास अवरुद्ध भएर मृत्यु भएको देखिएको छ।’
प्रहरीका अनुसार मृतक किशोरीकोे टाउको र हातमा तथा यौनाङ्गमा पनि गहिरो चोट लागेको देखिएको छ।
‘शरीरभरि नीलडाम र स–साना घाउ पनि छन्। शव भेटिएको स्थान वरपर झाडी मडारिएको छ’ प्रहरीले भनेको छ, ‘त्यसैले भागरथीलाई घिसारेर त्यहाँ फालेको हुन सक्न सक्छ।’
बुधवार विद्यालयबाट सम्पर्कविहीन भएकी भागरथीको बिहीवार साँझ हत्या गरी फालिएको अवस्थामा घर नजिकैको लबलेक सामुदायिक वनमा शव भेटिएको थियो।
अपराधीलाई कानूनी दायरामा ल्याउनु पर्ने माग गर्दै स्थानीय सर्वसाधारण, राजनीतिक दल, महिला अधिकारकर्मी, मानवअधिकारकर्मी लगायतले प्रहरी प्रशासनलाई घचघच्याइरहेका छन्।
आइतवार सुदूरपश्चिम प्रहरीका प्रमुख डीआईजी उत्तमराज सुवेदी घटनास्थलको अध्ययनका लागि बैतडी पुग्नुभएको छ।
घटनाको अनुसन्धानमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी जनकराज पाण्डेय र जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायण अधिकारीको छुट्टा–छुट्टै टीम सक्रिय छ।
प्रहरीका अनुसार शंकास्पद व्यक्तिहरुमाथि निगरानी बढाएर सोधपुछ गर्ने काम भइरहेको छ। घटनाको सूक्ष्म ढंगले अनुसन्धान भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
मृतक भागरथीसँग नजिक, घटनाको दिन घटनास्थलको बाटो हिँडडुल गर्ने तथा घटनाबारे थाहा भएकाहरुमाथि निगरानी बढाइएको प्रहरी स्रोतले बतायो।
अनुसन्धानमा किशोरीले प्रयोग गर्ने मोबाइल पनि पछ्याइरहेको प्रहरी स्रोतले बतायो। घटनास्थलमा भेटिएको किशोरीको मोबाइल, सिमकार्डमाथि पनि अनुसन्धान टोलीले विश्लेषण गरिरहेको छ