Prakash Adhikari April 8, 2021

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट प्रतिनिधिसमा सदस्य रहनुभएका चार सदस्यको पद रिक्त भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्रीसमेत रहनुभएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीले अन्य दलको राजनीतिक गतिविधिमा संलग्न्न भई केन्द्रीय सदस्य स्वीकार गरी दल त्याग गरेको भनी माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयमा निवेदन दिएकाले पद रिक्त रहेको जानकारी गराउनुभयो ।

उहाँहरु राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ (१) बमोजिम पद रिक्त रहेको भएको घोषणा गरिएको हो ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसदहरू मध्ये लेखराज भट्ट ५ मंसिर २०७६ मा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्नुभएको थियो भने  टोपबहादुर रायमाझी,  प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री के.पी. शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि गत पौषमा विस्तार गरिएको मन्त्री मण्डलमा समावेश गर्नुभएको थियो ।



२०७७ फागुन ११ गतेको फैसलाले प्रतिनिधिसभा पुनस्थापना भएको र २३ गतेको फैसलाले एकीकृत नेपाल कम्युनिष्ट पार्टी अवैध भन्दै त्यसपूर्वका नेकपा एमाले र माओवादी केन्द्रलाई पुनर्जीवित गरेपछि २०७४ सालको प्रतिनिधिसभामा आफ्नो पार्टीबाट निर्वाचित बनेका मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन माओवादी केन्द्रको स्थायी समितिले निर्देशन दिएको थियो ।

पार्टीको निदेशन नमानिकन मन्त्री पदमा बसिरहनुभएका चार जना विरुद्ध पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको सूचना नेकपा माओवादीले गत सोमबार  संसद सचिवालयलाई दिएको थियो ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा सभामुख सापकोटाले उहाँहरुलाई निर्वाचित गर्ने दलले साधारण सदस्यबाट समेत निष्कासन गरेको सूचना दिएकोले ती पदहरु रिक्त भएको घोषणा गर्नुभएको थियो ।

यो संगै चारै जनाको मन्त्री पद पनि धरापमा परेको छ । नेपालको संविधानको धारा ७७ को उपधारा १ को (ग) मा प्रतिनिधिसभाको सदस्य नरहेमा मन्त्री पद रिक्त हुने व्यवस्था छ । उहाँहरुलाई प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन भएर सांसद पद प्रश्नमा रहेको बेलामा गत पौष १० गते नियुक्त गर्नुभएको थियो ।
सो नियुक्तिमा संविधानको धारा उल्लेख गरिएको थिएन ।

संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुन सक्ने व्यवस्था छ। तर त्यसरी मन्त्री भएको व्यक्तिले ६ महिनाभित्र प्रतिनिधिसभा वा राष्ट्रियसभामध्ये एकको सदस्यता प्राप्त गर्नुपर्नेछ।

तर संविधानविद् एवम् नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले सांसद पद गएका व्यक्तिहरूको मन्त्री कायम रहन नसक्ने भएकोले राजिनामा गरी पुन नयुक्ति लिएर सपथ ग्रहण गर्नुपर्ने उपाय सुझाउनुभएको छ ।

Share Now

Leave a comment.