Prakash Adhikari May 10, 2021

भक्तपुर, २७ वैशाख (रासस)  । आगामी जेठ १३ गतेबाट सञ्चालन हुने एसइई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि दुबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ को महामारी बढिरहेको र सरकारले पनि यथास्थितिमा परीक्षा सञ्चालन नगर भनेकाले यही अवस्थामा परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नरहेकाले तत्कालका लागि दुबै परीक्षा स्थगित गरिएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य­सचिव दुर्गा अर्यालले जानकारी दिनुभयो । परीक्षा अब कहिले हुन्छ भन्ने बारेमा पुनः छलफल गरी अर्को सूचना प्रकाशित गरी जानकारी गराइने उहाँले बताउनुभयो ।

कोरोना महामारीका बीचमा एसइईका लागि देशभरका दुई हजार १९ परीक्षा केन्द्रमा परीक्षा दिन तयारीमा रहेका पाँच लाख १७ हजार विद्यार्थीलाई परीक्षामा सहभागी गराउन सक्ने अवस्था नरहेको बैठकले निष्कर्ष निकालेको बताइएको छ । बोर्डका अनुसार बैठकले एसइई र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्ने भन्नेबारेमा अध्ययन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।

यो कार्यदलले समग्र अवस्थाको अध्ययन गरी कोरोनाको सङ्क्रमण कायमै रहेर भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नभए के कसरी परीक्षा सञ्चालन गर्ने भन्नेबारेमा ढाँचा तयार गर्ने बताइएको छ । गतवर्ष पनि कोरोना भाइरसको महामारीका कारण एसइईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष अब कसरी हुन्छ भन्ने निर्णय हुन बाँकी रहेको छ । यसवर्षको एसइई परीक्षाका लागि आवश्यक प्रश्नपत्र छपाइको काम सम्पन्न भइसकेका जनाएको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै जेठ २६ बाट हुने कक्षा १२ को परीक्षा पनि कहिले हुन्छ भन्ने निर्णय हुन बाँकी रहेको छ । कक्षा १२ मा करीब चार लाख परीक्षार्थीको सहभागिता हुने भएका छन् । बोर्डले यसवर्ष कक्षा १२ को परीक्षाका लागि अनलाइनबाट प्रश्नपत्र पठाउने तयारी गरेको थियो । गतवर्ष पनि कोरोना महामारीका बीच अनलाइनबाटै प्रश्नपत्र पठाएर घरपायक परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।

Share Now

Leave a comment.