काठमाडौं, ८ बैशाख । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै राजनीतिक र कानुनी लडाईं लड्ने जनाएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिवार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यस्तो निश्कर्ष निकालेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभएको छ ।
‘यो कदम घोर असंवैधानिक र अलोकतान्त्रिक हो । यसमा काँग्रेसले अरु दलहरूसँग पनि सहकार्य गर्दै राजनीतिक प्रतिरोध गर्छ’, डा.महतले बैठकपछि भन्नुभएको छ । उहाँले ‘न्यायिक लडाई पनि लड्ने बताउनुभयो ।
काँग्रेसले नेपालको संविधान र लोकतान्त्रिक मूल्य मान्यतालाई छियाछिया पार्ने काममा प्रधानमन्त्री र राष्ट्रपति नै लागेको समेत जनाएको छ ।
‘मध्यरातमा नेपाली जनता सुतिरहेको बेलामा यस्तो षडयन्त्र भएको छ । हामीले विपक्षी दलको नेताको नेतृत्वमा हस्ताक्षरसहित बहुमत पुर्याएर सरकार गठन गर्न गरेको दाबी लत्याइएको छ’, काँग्रेस नेता महतले भन्नुभएको छ।