Prakash Adhikari June 10, 2021

प्रिटोरिया(दक्षिण अफ्रिका), २७ जेठ(बीबीसी) । दक्षिण अफ्रिकाकी गोसियामे थमारा सिथोलेबाट एकै पटकमा १० बच्चा जन्मिएका छन्। एकै पटक सर्वाधिक बच्चा जन्मिएको यो नयाँ कीर्तिमान हुन सक्ने बताइएको छ।

गोसियामे थमारा सिथोलेका पतिका अनुसार पहिला स्क्यान गर्दा गर्भमा आठ वटामात्र बच्चा देखिएको थियो।

तर १० वटा जन्मिँदा आफू छक्क परेको उहाँले बताउनुभएको छ।

“सात छोरा र तीन छोरी छन्। म खुसी छु, म भावुक भएको छु। म धेरै कुराकानी गर्न सक्दिनँ “,सोमवार राति बच्चा जन्मिएपछि टेबोहो सोतेत्सीले प्रिटोरीआ न्यूजलाई बताउनुभयो।

पहिला पनि जुम्ल्याहा

सैँतीस वर्षीया सिथोले पहिले पनि जुम्ल्याहा बच्चा जन्माउनुभएको थियो । उनीहरू अहिले छ वर्षका भए।

गर्भवती भएको २९ सातामा सोमवार साँझ शल्यक्रिया गरेर ती बच्चालाई जन्म दिएपछि उहाँको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ।

दक्षिण अफ्रिकी अधिकारीहरूले बीबीसीसँग एकै पटकमा १० वटा बच्चा जन्मिएको पुष्टि गरे।

गिनिज वर्ल्ड रेकर्ड्सले बीबीसीसँग सिथोलेको विषयमा अनुसन्धान गरिरहेको बताएको छ।

अरू घटना

सन् २००९ मा अमेरिकामा एउटी महिलाले एकै पटकमा आठवटा बच्चा जन्माउनुभएको थियो । एकै पटक धेरै बच्चा जन्माएर बाँच्न सफल व्यक्तिको गिनिज वर्ल्ड रेकर्ड अहिले उहाँकै नाममा रहेको छ।

तर गत महिना मात्र मालीकी २५ वर्षीया हालिमा सिसेले नौवटा बच्चालाई जन्म दिनुभएको थियो ।

बच्चा

बच्चा

धेरै भ्रूण भएको गर्भ प्रायः खेर जाने गरेको बताइन्छ

मोरक्कोको क्लिनिकमा उनी अहिले राम्रो स्वास्थ्य अवस्थामा रहेको बताइएको छ।

धेरै बच्चाहरू भएको अधिकांश गर्भ अपरिपक्व अवस्थामै अन्त्य हुने गरेको बीबीसी अफ्रिकाका स्वास्थ्य संवाददाता रोडो ओडियाम्बो बताउनुहुन्छ।

एकै पटकमा तीन वटाभन्दा बढी बच्चा जन्मिने घटना दुर्लभ हुन्छन्।

प्रायः सन्तान उत्पादनसम्बन्धी उपचार गराएका व्यक्तिले बच्चा जन्माउँदा मात्र त्यस्ता घटना हुने गरेको पाइन्छ। तर यो घटनामा ती दम्पतीले प्राकृतिक रूपमै गर्भाधान गरेका थिए।

प्रार्थना र अनिदा रात

प्रिटोरीआ न्यूजसँग एक महिनाअघि कुराकानी गर्दै सिथोलेले ूसुरुमा आफ्नो गर्भावस्था निकै कठिनू रहेको बताउनुभएका थियो।

उहाँले स्वस्थ्य रूपमा बच्चा जन्माउन प्रार्थना गरेका र कस्तो होला भन्ने चिन्तामा कैयौँ रातहरू कटाएको पनि बताउनुभएको थियो।

उनीहरू कसरी गर्भमा अटाउलान् र  के उनीहरू बाँच्लान् भनेर उहाँले आफैँसँग सोध्नुहूुन्थ्यो। तर चिकित्सकहरूले गर्भाशय फैलिरहेको पुनः सुनिश्चित गराएका थिए।

उहाँको गर्भमा आठवटा भ्रूण रहेको ठानिएको थियो त्यसबेला सिथोलेले गोडामा दुखाइ अनुभव गर्नुभएको थियो ।

चिकित्सकहरूले आठमध्ये दुई भ्रूण गलत स्थानमा रहेको पाएका थिए।

“त्यसलाई समाधान गरिएको थियो र त्यसपछि म ठिक थिएँ। म मेरा बच्चा पर्खिन सक्दिनँ “, त्यस बेला सिथोलेले  उक्त पत्रिकालाई भन्नुभएको थियो।

त्यसअघि एकै पटकमा नौ जना बच्चा जन्मिएका दुईवटा घटना अभिलेखमा छन्। तर तीमध्ये कुनै पनि बच्चा केही दिनभन्दा बढी बाँच्न सकेनन्।

Share Now

Leave a comment.