Prakash Adhikari June 21, 2021

काठमाडौं,७ आषाढ । नेपालका बाणिज्य बैंकहरुका अब्बल मानिएको नबिल बैंक लिमिटेडको विशेष साधारण सभाले  यूनाइटेड फाइनान्स कम्पनीलाई प्राप्ती गर्ने प्रस्ताव पारित गरेको छ ।

यही आषाढ ५ गते शनिवार बसेको बैंकको विशेष साधारणसभाले सो प्रस्ताव पारित गरेको हो ।

यूनाइटेड फाइनान्स कम्पनीको १०० कित्ता शेयर आफ्नो ३५ कित्ता बराबर हुने गरी  सो संस्था प्राप्त गर्ने निर्णय नबिल बैंकले गरेको हो ।

साधारणसभामा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले आफना ग्राहकहरुलाई उत्कृष्ट बैंकिड. सेवा प्रदान गर्दै आएको नबिल बैंकले आफ्नो उद्देश्य,परिकल्पनासंग तादात्म्य राख्ने र समान दृष्टिकोणसहितको सञ्चालक र व्यवस्थापकीय टीम भएको संस्था प्राप्त गर्न पाएकोमा खुसी प्रकट गर्नुभएको थियो ।

उहाँले प्राप्तीको कुराको उठानभएदेखि सफलतापूर्वक यसलाई सम्पन्न गराउनुभएकोमा यसमा  संलग्न सबैलाई धन्यवाद पनि दिनुभएको थियो ।

राष्ट्र बैंकले केही समय पहिलो नबिल बैंकलाई यूनाइटेड फाइनान्स गाभ्नका लागि सैद्दान्तिक सहमति दिएको थियो ।

दुवै संस्थाबिच वैशाख १७ गते नबिल बैंकले युनाइटेड फाइनान्स लाई प्राप्ती गर्ने विषयमा सम्झौता भएको थियो ।

बैंकका मर्जर कमिटीका संयोजक उदय कृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिषकुमार खेमकाले प्राप्तीका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

प्राप्तीपछि युनाइटेड फाइनान्सको सम्पूर्ण कारोबार नबिलकै नाममा हुने र संचालक समितिमा पनि नबिल बैंककै रहने गरि सम्झौता भएको थियो ।

यूनाइटेडको प्राप्तिपछि नबिल बैंकको शाखा सञ्जाल वृद्धि भइ १ सय ४७ हुनेछ । नबिल बैंकको काठमाडौं उपत्यकाभित्र मात्र शाखा सञ्जाल बृद्धि भइ ३७ हुनेछ ।  यस्तै एटीएम काउण्टर १ सय ९० पुग्नेछ ।

चैत्र मसान्तको बित्तियविवरण अनुसार मर्जरपश्चात निक्षेपको आकार २ खर्ब १६ अर्ब हुनेछ भने कर्जाको आकार २ खर्ब १ अर्ब हुनेछ ।

यस बर्षको साधारण सभाबाट नबिल बैंकले मर्जर तथा प्राप्ती प्रकृयामा जान पहिलो पटक  पारीत गरेको थियो ।

शनिवार नै युनाइटेड फाइनान्सको पनि विशेष साधारण सभा सम्पन्न भएको र सभाबाट संस्थालाई नेपालको ख्यातिप्राप्त क बर्गको बैंक नबिल बैंकमा गाभ्ने प्रस्तावलाई पारित गरेको छ ।

दुवै संस्था आषाढ मसान्तभित्रै एकीकृत कारोबार गर्ने तयारीमा छन् ।

Share Now

Leave a comment.