काठमाडौं । मेगा बैंक नेपाल देशको २८ औं वाणिज्य बैंकका रुपमा स्थापना भएको मेगा बैंक १२ वर्षमा प्रवेश गरेको छ ।
११ औं बार्षिकोत्सवका अवसरमा बैंकको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा प्रमुख कार्यकारी अधिकृतका रुपमा अनुपमा खुञ्जेलीले शेयरधनीहरु, संचालक समिति, ग्राहकहरु, नियामक निकाय, कर्मचारी वर्ग र सरोकारवालाहरुको निरन्तर सहयोग र अटुट विश्वासका कारण मेगा बैंक नेपालको समग्र अर्थतन्त्रलाई टेवा पुर्याउने सबल संस्थाको रुपमा स्थापित हुन पुगेको बताउनुभयो ।
बैंकले स्थापनाकालदेखि नै देशको अर्थतन्त्रको प्रमुख आधार रहेका कृषि, उर्जा, साना तथा मझौला उद्योग र विपन्न वर्ग कर्जाका साथसाथै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने उत्पादनमूलक तथा रोजगारमूलक उद्योग व्यवसायमा लगानी बढाउने नीति लिंदै आएको छ ।
बार्षिकोत्सवमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका वाणिज्य बैंकको पहिलो महिला प्रमुख कार्यकारी अधिकृत खँजेलीले भन्नुभयो, “युवा वर्ग र वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई स्वरोजगार बनाउन तथा वित्तीय पहुँच स्थापनाका लागि मेगा बैंकले विशेष भूमिका खेलेको छ । मेगाका ११ वर्ष सिकाइ र उपलब्धिका दृष्टिबाट अत्यन्त महत्वपूर्ण छन् ।”
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खुँजेलीले बैंकले ग्राहकहरुलाई अन्यन्तै नवीनतम प्रविधिको उपयोग गर्दै डिजिटल बैंकिङ्ग सेवा प्रदान गरिरहेको बताउनुभयो ।
१२ औं बर्षमा आइपुग्दा मेगा बैंकको चुक्ता पुँजी १४ अर्ब, ६५ करोड ४९ लाख ८४ हजार ९ सय ५८ पुगेको छ । चुक्ता पूँजीको हिसाबले मेगाले बाणिज्य बैंकमा छैटौं स्थान ओगटेको छ ।
२०७८ आषाढ मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब १ खर्ब ४५ अर्ब रुपैयाँ र कुल कर्जा करिब १ खर्ब ४१ अर्ब रुपैयाँ रहेको छ ।
मेगा बैंकले १७ सय भन्दा बढी कर्मचारीबाट देशभरका ५८ जिल्लामा फैलिएका १ सय ७८ शाखा सञ्जाल, १ सय ३७ वटा एटीएम, ३३ वटा एक्टेन्शन काउन्टर र ७१ वटा शाखारहित बैंकिङ सेवामार्फत १२ लाख ४० हजार भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।
बैकले छिट्टै नै थप १४ वटा शाखाहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ।
मेगा बैंक नेपालले ११औं वार्षिकोत्सवका अवसरमा सिन्धुपाल्चोक र मनाङका बाढी–पहिरो पीडितलाई १२ लाख रुपैंया आर्थिक सहयोग गरेको छ ।
मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सिन्धुपाल्चोकको हेलम्बुमा ७ लाख रुपैंया र मनाङको चामेका बाढी पहिरो पीडितलाई ५ लाख रुपैंया सहयोग गरेको हो ।


















