Prakash Adhikari July 23, 2021

काठमाडौं, ८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका नेता तथा संविधान निर्माण गर्ने संविधानसभाका तात्कालीन अध्यक्ष सुवास नेम्वाङलाई संविधानमा धारा ७६(५) किन राखिएको हो भनेर प्रश्न गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न राजनीतिक दलका नेताहरुले प्रधानमन्त्री देउवा र नवगठित सरकारलाई बधाई तथा शुभकामना दिएकोमा धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्ने क्रममा उहाँले सो प्रश्न सोध्नुभएको हो ।

प्रधानमन्त्री देउवालाई शुभकामना दिने क्रममा एमाले नेता सुवास नेम्बाड.ले सर्वोच्च अदालतले जनमत र संविधानको भावना विपरित ब्याख्या गरेको आरोप लगाउदै झण्डै ५० मिनेट भाषण छाट्नुभएको थियो ।

प्रधानमन्त्री देउवाले संविधानसभाका तात्कालीन अध्यक्ष नेम्वाङलाई धारा ७६(२) हुँदाहुँदै संविधानको धारा ७६(५) लेखिनुको कारण सोध्दै उहाँले संविधान जारी भएपछि ठाउँठाउँमा अब प्रतिनिधिसभा बीचमा भंग हुने छैन, राजनीतिक अस्थिरता आउने छैन र प्रतिनिधिसभाले पूर्णकाल काम गर्न पाउनेछ भनेको पनि स्मरण गराउनुभएको थियो ।

प्रधानमन्त्री देउवाले नयाँ सरकार गठनका क्रममा राष्ट्रपतिले ७६(५) अनुसार कुनै पनि संसद सदस्यले बहुमत पुर्‍याउन सक्छ भनेर आह्वान गरेपछि आफूहरु सरकार गठनको दावी गर्न गएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विपक्षी दलको नेता नभएको प्रति दुखेसो मात्र पोख्नुभएन, विपक्षी दलका नेताको तर्फबाट उपनेताले आफ्ना कुरा राखेर जवाफ नसुनी बाहिरिएकोमा पनि चित्त दुखाउनुभयो ।

सांसदहरुले बधाई तथा शुभकामना दिने क्रममा व्यक्त गर्नुभएको जिज्ञासाको जवाफ दिंदै प्रधानमन्त्री देउवाले आफूले वाचा गरेको कुरा पूरा गरेरै छाड्ने बताउनुभयो । उहाँले जनताको जीउ र धनको रक्षा प्रथम कर्तव्य भएकोले ऋण गरेर भए पनि खोप किनेर जनतालाई खोप लगाएरै छाड्ने बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीका रुपमा आफ्नो यो कार्यकाल एक वर्ष ५ – ७ महिना मात्र रहने उल्लेख गर्दै यो अवधिमा देखिने गरी काम गर्ने बताउनुभयो ।

Share Now

Leave a comment.