निरञ्जन राजवंशी
काठमाडौं, ९ साउन । जापानको राजधानी टोकियोमा ३२औँ ओलम्पिक्स एउटा शान्त, सभ्य र भव्य समारोहकाबिच सुरु भएको घोषणा गरिएको छ।
टोकियो ओलम्पिक रङ्गशालामा आयोजित समारोहमा जापानका सम्राट नारोहितोले ओलिम्पिक्सका खेलहरू सुरु भएको घोषणा गर्नुभएको थियो।
उहाँका हजुरबुवाले पनि सन् १९६४ मा टोकियो ओलिम्पिक्सको त्यसैगरि उद्घाटन गर्नुभएको थियो।
चारपटक टेनिस ग्र्यान्ड स्ल्याम जितेकी नाओमी ओसाकाले ओलिम्पिक मसाल बालेसँगै सबैभन्दा ठूलो खेल मेला औपचारिक रूपमा सुरु भएको हो।

उक्त अवसरमा बोल्दै अन्तर्राष्ट्रिय ओलिम्पिक समितिका अध्यक्ष थोमस बाखले भन्नुभयो ूआज यो आशाको क्षण हो। हो, यो हामी सबैले कल्पना गरेभन्दा निकै भिन्न हो। तर पनि यो क्षणमा रमाउँ किनकि हामीहरू यहाँ एकसाथ भएका छौँ । २ सय ५ राष्ट्रिय ओलिम्पिक्स कमिटिहरू र आईओसी शरणार्थी ओलिम्पिक्स टोली एउटै छातामुनि ओलिम्पिक ग्राममा बसिरहेका छौँ।ू

नाओमी
उद्घाटन समारोहमा कोभिड १९ का पीडितहरूको सम्झनामा मौन धारण गरिएको थियो। मास्क लगाएका थोरै खेलाडीहरूले मार्चपास गरे।
अनपेक्षित रूपमा तयारीको निम्ति एक वर्ष बढी समय पाएका ११ हजार ३०० खेलाडिहरू ओलिम्पिक्समा प्रतिस्पर्धा गर्दैछन्।
ती खेलाडिहरू सहभागी खेल दुई हप्ताभन्दा बढीसमय सम्म चल्नेछ।
त्यस्तै २४ अगस्टबाट अपाङ्गता भएका खेलाडीहरूको पाराओलम्पिक्स सोही रङ्गशालामा सुरु हुनेछ।
नेपालका तर्फबाट खेलमा सहभागी हुन जापान पुगेका पौडी खेलाडी गौरिका सिंह र एलेक्स शाहले उद्घाटन समारोहमा संयुक्त रूपमा नेपालको झन्डा बोक्नुभएको थियो।
नेपालबाट चार खेलका पाँच खेलाडीसहित २६ सदस्यीय टोलीले विश्वको सबैभन्दा ठूलो खेल उत्सवमा सहभागिता जनाइरहेका छन्।
ओलिम्पिक्समा ३३ खेल समावेश गरिएको छ, जसको लागि ३ सय ३९ ुइभेन्ट्सुहरू विभिन्न ४२ खेल स्थलमा सञ्चालन हुनेछ।

नेपालको खेल
नेपाली खेलाडीहरूको खेल उद्घाटनको भोलिपल्ट आजैदेखि सुरु हुनेछ।
शनिवार शुटिङकी कल्पना परियारले १०० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नुहुनेछ भने जुडोकी सोनिया भट्टले ४८ केजी मुनिको तौल समूहमा खेल्नुहुनेछ।
भट्टको विपक्षी खेलाडी रसियाकी डोल्गोभा इरिना हुनुहुन्छ।
त्यस्तै जुलाई २७ मा पौडीका एलेक्स शाहले १०० मिटर फ्री स्टाइलमा र जुलाई २८ मा गौरिका सिंहले सोही इभेन्ट्समा खेल्ने तालिका छ।
जुलाई ३० मा एथलेटिक्सकी सरस्वती चौधरीले १०० मिटर दौडमा भाग लिनुहुनेछ।
नेपालबाट १२ जना खेलाडीहरूले वाइल्ड कार्डका लागि प्रयास गरेकोमा दुई जनाले मात्र त्यो पाउन सफल हुनुभएको थियो।
कराँते, भारोत्तोलन, बक्सिङ, आर्चरी र तेक्वान्दोका खेलाडीहरूले वाइल्ड कार्ड पाउन सक्नुभएन।
त्यस्तै पाराओलिम्पिक्समा नेपालकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले प्रतिस्पर्धा गर्नुहुनेछ । उहाँबाट पदकको आशा समेत गरिएको छ।
सुनसान उद्घाटन
जापानमा कोभिड १९ को महामारी यथावत् रहेकोले ओलिम्पिक्स खेल पूर्ण रूपमा त्यसको छायामा सुरु भएको छ।
आयोजकले बनाएका योजनाहरूमा कटौती गरिरहेका छन्। उद्घाटन समारोहमा एक हजार दर्शकहरू मात्र उपस्थित भएका थिए।

त्यस्तै मार्च पासमा पनि खेलाडीको सङ्ख्या कटौती गरिएको थियो।
अनि उद्घाटन समारोहको कार्यक्रमहरूमा व्यापक छाँटकाँट गर्दै सामान्य ढङ्गको समारोह गरियो ।
टोक्यो २०२० का अध्यक्ष शेख हासिमोटोले टिकट किनिसकेका लाखौँ दर्शकहरूसँग माफी माग्नुभयो।
कोरोनाभाइरसको छाया
कोरोनाभाइरस महामारीको सङ्ख्या बढिरहेकोले टोक्यो सहरमा गत ८ जुलाईबाट निषेधाज्ञा लगाइएको छ। त्यो २२ अगष्ट कायम हुनेछ।
हुन त जापानमा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या धेरै छैन।

ओलम्पिक्स
जोन्स हप्किन्स विश्वविद्यालयको २३ जुलाईको तथ्याङ्क अनुसार जापानमा अहिलेसम्म ८ लाख ५३ हजार १ सय ३७मा कोरोनाभाइरस सङ्क्रमित भएका छन् भने मृत्यु हुनेको सङ्ख्या १५ हजार ४६ छ।
जापानको १२ करोड ६० लाख जनसङ्ख्या मध्ये ३५ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाइसकेका छन् भने २२ प्रतिशतले पूर्ण रूपमा खोप लगाइसकेको छ।
कोरोनाभाइरसका कारण बेलायत लगायत १ सय ५९ देशका मानिसलाई जापानमा आउन प्रतिबन्ध लगाइएको छ।

खेलाडीमाथि सावधानी
खेलाडीहरूले हरेक दिन कोभिड परीक्षण गर्नुपर्नेछ।
खेलाडीलाई उनीहरूको देशमा फैलिएको कोरोना महामारी अनुसार छुट्टाछुट्टै नियम लगाइएको छ।
जस्तै नेपाललगायत दक्षिण एशियाली राष्ट्रलाई जापानले ुरेड जोनुको सूचीमा राखेको छ।
त्यसैले नेपालले जापान जानु १४ दिन अगाडिदेखि सहभागीहरूको ज्वरो नाप्नु पर्ने तथा सात दिन अगाडिदेखि पीसीआर रिपोर्ट पेस गर्नुपर्नेछ।
सोही नियम अनुसार पीसीआर परीक्षण गर्दा एथलेटिक्स प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना पोजेटिभ देखिएको थियो।
यति धेरै सावधानी अपनाउँदा पनि जापान पुगेका खेलाडीहरूमा अहिलेसम्म ९० जनामा कोरोना पोजेटिभ देखिसकिएको छ। जसमा बेलायतका खेलाडी अम्बेर हिल पनि छन्।

(बीबीसीबाट)


















