काठमाडौं, ९ साउन । आजदेखि मध्यम तथा लामो दूरीका सवारी साधनहरू चल्न थालेका छन्।
कोरोना संक्रमणको जोखिमलाई नियन्त्रण गर्न भन्दै बैशाख १६ देखि लागूभएको निषेधाज्ञासंगै लामो समयदेखि बन्द रहेको अन्तर जिल्ला यातायातलाई सरकारले आजदेखि खुला गरेको हो।
यसअघि स्थानीय प्रशासनबाट आन्तरिक रूपमा र काम विशेषले आएका सवारीलाई मात्रै काठमाडौं उपत्यकाभित्र प्रवेश दिइएको थियो।
तर, सरकारले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर सबै सवारी सञ्चालन गर्न पाइने निर्णय गरेको छ।
नेपाल सरकार (मन्त्रिपरिषद)को यही साउन ४ को निर्णयअनुसार यातायात सञ्चालनको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले यातायात व्यवसायीलाई अनुरोध गरेको छ।
प्रशासन कार्यालयले अनिवार्यरूपमा टिकट काटेर मात्रै यात्रा गर्न पनि अनुरोध गरेको छ।



















