Prakash Adhikari August 14, 2021

काठमाडौं, ३० साउन । नेपालमा थप २ हजार ६ सय २४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २० जनाको कोभिड(१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या ८ लाख ५ हजार नाघेको छ भने मृतकको सङ्ख्या १० हजार २ सय ५९ पुगेको छ।

गत २४ घण्टामा २१ देखि ३० वर्ष उमेर समूहका ४ सय ७७ जना तुलनात्मक रूपमा सबभन्दा बढी सङ्ख्यामा सङ्क्रमित बनेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

सङ्क्रमित हुने दोस्रो ठूलो सङ्ख्याको उमेर समूह ३१ देखि ४० को रहेको छ। उनीहरूको सङ्ख्या ४ सय ५१ रहेको छ।

शनिवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार विगत २४ घण्टामा १३ हजार ५ सय ७३ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ४ हजार ९ सय ६ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

अहिले कुल परीक्षणको १९.३३ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १ हजार ३ सय २० जना सङ्क्रमणमुक्त भएका छन्।

सङ्क्रमितमध्ये ३६ हजार भन्दा बढी घरमा तथा ३ हजार ४ सय भन्दा बढी संस्थागत आइसोलेशनमा छन्।

अहिले ७ सय ६० जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १ सय ८६ जना भेन्टिलेटरमा छन्।

कतिले लगाए खोप ?

अहिलेसम्म पूर्ण मात्रामा खोप लगाउनेहरूको सङ्ख्या ३३ लाख नाघेको मन्त्रालयले जनाएको छ।

अक्सफर्ड(आस्ट्राजेनेकाले बनाएको खोप, चीनमा निर्मित भेरो सेल र जोनसन एन्ड जोनसनको ज्यान्सेन खोप नेपाल आएका छन्।

जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने आस्ट्राजेनेका तथा भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।

 

Share Now

Leave a comment.