काठमाडौं, ३० साउन। नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन मंसिरमा हुने भएको छ । साउन २८ गतेदेखि जारी केन्द्रीय समितिको शनिवारको बैठकले महाधिवेशनको मिति मंसिर ९ देखि १३ गतेसम्म निर्धारण गरेको हो ।
क्रियाशील सदस्यता विवादको कारण यही भदौ १६ देखि १९ गतेसम्म निर्धारण भएको महाधिवेशनको प्रक्रिया शुरु हुन नसकेपछि कांग्रेसले तीन महिना पछि अर्को महाधिवेशन गर्ने मिति तोकेको हो ।
केन्द्रीय समितिले यही भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ ।
त्यस्तै भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने भनिएको छ ।
नयाँ कार्य तालिका अनुसार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।


















