Prakash Adhikari October 26, 2021

शरद् के.सी./(बीबीसी)
काठमाडौं, ९ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिने अडान व्यक्त गरेका छन्।

बीबीसी न्यूज नेपालीलाई दिएको अन्तर्वार्तामा उहाँले आफूले कसैको दबावमा राजीनामा नदिने बताउनुभएको हो।

आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश बनेको भन्दै प्रधानन्यायाधीश राणाले ‘सडकबाट राजीनामा माग्दैमा आफू त्यसको निम्ति तयार नहुने’ दृढता प्रकट गर्नुभएको छ।

नेपाल बार एशोसिएशन तथा पूर्वप्रधानन्यायाधीश लगायतबाट राजीनामाको अपेक्षा भइरहेको देखिएको बेला जबराले त्यस्तो अडान दर्शाउनुभएको हो।

महाभियोग सामना गर्न तयार !

प्रधानन्यायाधीश जबराले आफू पदबाट बाहिरिने बाटो संविधानमा व्यवस्था रहेको भन्दै महाभियोगतर्फ सङ्केत गर्नुभएको छ।

प्रधानन्यायाधीश जबराले भन्नुभयो, ‘संविधानको प्रक्रियाबाट म आएको छु र त्यही संविधानको प्रक्रियाबाट मात्रै म जाने हो।’

कसैको ‘दबाव र प्रभावमाू’ पद त्याग नगर्ने उहाँले बताउनुभयो। जबराले भन्नुभयो, ‘न्यायपालिकालाई लथालिङ्ग पारेर म जान्नँ।’

त्यसको अर्थ के उहाँ महाभियोग सामना गर्न तयार हुनुहुन्छ त?

‘यसमा म प्रष्ट छु, म विधि र प्रक्रियाबाट आएको हुँ, विधि र प्रक्रियाबाट जान तयार छु’,  उहाँले भन्नुभयो।

वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा जबराले भाग खोजेको आरोप लागेपछि उहाँ विवादमा तानिनुभएको थियो।

तर मन्त्री नियुक्त भएपछि जबराका नातेदार गजेन्द्र हमालले राजीनामा दिनुभएको थियो।

सर्वोच्च अदालत

सर्वोच्च अदालत

को हुन् चोलेन्द्र शम्शेर जबरा ?

ओमप्रकाश मिश्र सेवानिवृत्त भएपछि पौष २०७५ मा चोलेन्द्र शम्शेर जबरा प्रधानन्यायाधीश बन्नुभएको थियो।

उनको जन्म मंसिर २०१४ मा कालिकास्थानमा भएको सर्वोच्च अदालतको वेबसाइटमा प्रकाशित विवरणमा उल्लिखित छ।

उहाँले नेपाल ल क्याम्पसबाट डिप्लोमा इन ल (डीएल) गर्नुभएको छ।

उहाँले वैशाख २०५३ मा जनकपुर पुनरावेदन अदातलमा अतिरिक्त न्यायाधीश बनेर न्यायसेवामा प्रवेश गर्नुभएको हो। त्यसअघि उहाँ अधिवक्ताका रूपमा काम गर्नुहुन्थ्यो।

तात्कालिक प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाभियोग प्रस्तावलाई अघि नबढाउन तथा उहाँलाई काममा फर्काउन वैशाख २०७४ मा आदेश दिएपछि जबरा चर्चामा आउनुभएको थियो।

Share Now

Leave a comment.