Prakash Adhikari November 10, 2021

 

लण्डन(संयुक्त अधिराज्य), २४ कार्तिक । नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले यूकेको बर्मिङ्घममा आफ्ना प्रेमीसँग एक ईश्लामिक समारोहकाबीच विवाह गर्नुभएको छ।

मलाला र असेर मलिकले निकाहमा सहभागी हुँदै विवाहका लागि सहमति जनाउनुभएको थियो।

कानुनी हैसियत नहुने भए तापनि ईश्लामिक विवाहमा निकाहलाई पहिलो कदम मानिन्छ।

२४ वर्षीय यी अभियानकर्मीले त्यसलाई आफ्नो जीवनकै एउटा मूल्यवान् दिन बताउनुभएको छ।

सन् २०१२ मा तालिबानको गोली हमलामा परेपछि पाकिस्तानी महिला अधिकारवादी मलालाले इङ्ग्ल्याण्डको वेस मिडल्याण्ड्स क्षेत्रमा शरण पाउनुभएको थियो।

मलालाको ट्विटर

मङ्गलवार मलालाले एउटा ट्विट गर्दै असेर र आफू जीवनभरका लागि दम्पती भएको बताउनुभएको थियो।

उहाँले लेख्नुभयो, ूअगाडिको यात्राका लागि एकसाथ अघि बढ्न हामी निकै उत्साहित छौँ।ू

२४ वर्षकी मलाला १५ वर्षकी हुँदा पाकिस्तानमा तालिबानको हमलामा पर्नुभएको थियो जहाँ उहाँले किशोरीहरूको पढ्न पाउने अधिकारबारे बोल्नुभएको थियो।

मलाला

मलाला

उत्तर-पश्चिमी स्वात उपत्यकामा लडाकुहरूले उनी चढेको स्कुल बसमा हमला गर्दा मलालासहित उहाँका अन्य दुई साथीहरू घाइते भएका थिए।

झण्डै ज्यान गुमाएको उक्त घटनापछि मलाला र उहाँको परिवार ब्रमिङ्घममा सर्यो जसलाई मलालाले पछि आफ्नो दोस्रो घर भन्नुभएको थियो।

१७ वर्षमा मलाला नोबेल पुरस्कार पाउने सबैभन्दा काम उमेरकी व्यक्ति बन्नुभयो।

पछि उहाँ अध्ययनका लागि अक्सफर्ड विश्वविद्यालय जानुभयो र एकजना अग्रणी मानवअधिकारकर्मी बन्नुभयो।

विवाहबारे धारणा

मलालाले यसअघि विवाहका विषयमा दुविधाहरू व्यक्त गरेको पाइएको थियो।

भोग पत्रिकालाई जुलाईमा दिएको अन्तर्वार्तामा मलालाले भन्नुभएको थियो, “म अझै बुझ्दिनँ मानिसहरूलाई किन विवाह गर्न पर्छ भनेर।”

“यदि तपाईँ कसैलाई आफ्नो जीवनमा चाहनुहुन्छ भने किन विवाहका पत्रमा हस्ताक्षर गर्नु पर्यो, जोडी मिलेर मात्र बस्न किन नसकिने?”

उहाँले थप्नुभएको थियो, “मेरी आमा चाहिँ कस्ती हुनुहुन्छ भने‘”त्यस्तो कुरा गर्दै नगर१ तिमीले विवाह गर्नुपर्छ, विवाह सुन्दर कुरा हो।”

उहाँको विवाहको खबरलाई दशौँ हजार प्रशंसकले अनलाइनमा मन पराएका छन् र हजारौँले उक्त जोडीलाई शुभेच्छा पठाएका छन्।

को हुन् असेर मलिक?
मलालाले आफू क्रिकेटको प्रशंसक भएको कयौँ अन्तर्वार्ताहरूमा बताउनुभएको थियो।

मलाला

मलाला

संयोगले उहाँका श्रीमान् असेर मलिकको सम्बन्ध समेत क्रिकेट खेलसँग नजिकको रहेको छ।

मलिक पाकिस्तान क्रिकेट बोर्ड पीसीबीको न्याश्नल हाई पर्फर्मेन्स सेन्टरमा प्रबन्धक हुनुहुन्छ।

उहाँले लाहोरको प्रतिष्ठित ऐचिङ्सन कलेज र लाहोर विश्वविद्यालयमा पढ्नुभएको हो।

पीसीबीसँग जोडिनुअघि उहाँ पाकिस्तान सुपर लीगको एक टोली मुल्तान सुल्तान्ससँग समेत जोडिनुभएको थियो।

Share Now

Leave a comment.