Prakash Adhikari March 5, 2018

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मैत्रीपूर्ण निमन्त्रणामा पाकिस्तानका प्रधानमन्त्री साहिद खाकन अब्बासी दुईदिने सद्भावना भ्रमणमा आज अपरान्ह काठमाडौं आउँदैछन् ।

३० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अब्बासी आज अपरान्ह ३ स्१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने छन् ।

पाकिस्तानी प्रधानमन्त्रीको आकस्मिक नेपाल आगमनलाई कुटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । उनले नेपालमा करिव २० घण्टा बिताउनेछन् ।

आफ्नै विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने अब्बासीलाई अर्थमन्त्री डा.युवराज खतिवडाले स्वागत गर्नेछन् ।

विमानस्थलबाट उनी सीधै ह्यात होटलमा जानेछन् ।

केही समय विश्राम गरेपछि उनी सैनिकमञ्च टुँडिखेल पुग्नेछन् जहाँ उनको सम्मानमा नेपाली सेनाको टोलीले ‘गार्ड अफ अनर’ प्रदान गर्नेछ ।

साँझ साढे ५ बजे गार्ड अफ अनरको समय निर्धारण गरिएको छ ।

सो सम्मान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको सहभागीता रहनेछ ।

यसअघि विशिष्ट अतिथिलाई त्रिभुवन विमानस्थलभित्रै गार्ड अफ अनर प्रदान गरिन्थ्यो तर आउने दिनमा यो परम्परा फेरेर सैनिकमञ्चमा दिन लागिएको हो ।

त्यसपछि पाकिस्तानी प्रधानमन्त्री अब्बासी प्रधानमन्त्री केपी शर्मा ओलीले याक एन्ड यति होटलमा उनको सम्मानमा आयोजना गरेको रात्रीभोज सहभागी हुनेछन् ।

सोही होटलमा ओली र अब्बासीबीच भेटवार्तासमेत हुनेछ । भेटवार्ताको समय एक घण्टा निर्धारण गरिएको छ ।

अब्बासीले ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधार्इ दिनेछन भने द्विपक्षीय हितका विषयमा पनि छलफल हुनेछ ।

भेटवार्तामा आगामी सार्क सम्मेलन आयोजनाका विषयमा छलफल हुने छ ।

२०७१ मंसिरमा नेपालमा सार्क सम्मेलन आयोजना भएपछि अर्को सम्मेलन पाकिस्तानमा आयोजना गर्ने निर्णय भएको थियो । तर भारत र पाकिस्तानबीचको तनावपूर्ण सम्बन्धका कारण त्यो सफल भैरहेको छैन् ।

पाकिस्तान आगामी सार्क सम्मेलन आयोजक राष्ट्र भएकाले त्यसलाई आयोजना गर्नका लागि नेपालको सहयोगको अपेक्षा अब्बासीबाट हुने अनुमान गरिएको छ ।

पाकिस्तानी प्रधानमन्त्रीको यस भ्रमणको अवसरमा द्विपक्षीय व्यापार, पर्यटन, शिक्षा, रक्षा लगायतका विषयमा पनि छलफल हुनेछ ।

मंगलबार बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारी गरी उनी स्वदेश फर्किने कार्यक्रम छ ।

राष्ट्रपति र प्रधानमन्त्री बाहेक अन्य नेताहरुसँग अब्बासीको भेटवार्ता तय भएको छैन ।

Share Now

Leave a comment.