Prakash Adhikari December 13, 2021

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय कार्य समितिको निर्वाचनको लागि पटक पटक समय थप गरी अन्तिम समय ११ बजे तोकिएको छ । यस पहिले बढाएको समयमा पनि मतदान नसकिएपछि निर्वाचन समितिले मतदानको समय डेढ घण्टा थपेर राति साढे १० बजेसम्मका लागि पुनः लम्ब्याएको थियो ।

नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा सभापतिका लागि ४ हजार ३ सयभन्दा बढीले मत हालिसकेपछि बाँकीका लागि डेढ घण्टा समय थपेको थियो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा ४ हजार ७ सय ४३ ा जना महाधिवेशन प्रतिनिधि रहेका छन् ।

आव बिहान साढे ११ बजे शुरु भएको मतदानमा रातिसम्म पनि प्रतिनिधिहरु लाइनमा छन् ।

तेस्रो पटक मतपत्र अभावले मतदान अवरुद्ध

मतपत्र सकिएका कारण दिउँसो पटक पटक मतदान स्थगित हुन पुग्दा प्रतिनिधिहरु आक्रोशित भएका थिए ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मतदान भइरहेको राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा मतपत्र सकिएर मतदान तीन पटक रोकिन पुग्यो ।

मतदानस्थलमा राखिएको मतपत्र सकिएपछि अहिले महाधिवेशन प्रतिनिधिहरु मतपत्रको प्रतीक्षामा लाइनमा बसिरहेका छन् । राष्ट्रियसभागृहमा मतपत्र नभएर मतदान रोकिएको विहानदेखि यो तेस्रो पटक हो ।

निर्वाचन समिति स्रोतका अनुसार यसअघि बाँडिएको मतपत्र सकिएको र प्रेसबाट छापिएर आएको नयाँ मतपत्रलाई आधिकारिकता दिने काम भइरहेको छ ।

यसअघि बाँडिएको ३ हजार मतपत्र सकिएको र भर्खरै छापिएर आएको १ हजार ७ सय मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर गरेर बाँड्न बाँकी रहेको निर्वाचन समितिले बताएको थियो ।

मतपत्र सकिएर मतदान गर्न नपाएपछि महाधिवेशन प्रतिनिधिले नाराबाजी गरेका थिए ।

नेपाली कांग्रेसको १४ महाधिवेशनको अन्त्यमा नयाँ नेतृत्व चयन गर्न निर्वाचन भैरहेको छ । निर्वाचनमा मतदानका लागि भृकुटीमण्डपमा दुईवटा र राष्ट्रिय सभागृहमा एउटा मतदान केन्द्र तोकिएको छ ।

 

Share Now

Leave a comment.